• मंसिर १२ २०८१, बुधबार

बलात्कार र हत्याका घटनाले समृद्धिको कुरा गर्ने सरकारको धज्जी उडाएको छः आचार्य

माघ २६ २०७७, सोमबार

घोराही । बैतडीकी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरुद्धमा राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा विरोध सभा गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बलात्कार पछिको हत्याको श्रृंखलाले सचेत नागरिकलाई लज्जित पारेको र समृद्धिको कुरा गर्नेहरुको धज्जी उडेको बताए ।

आचार्यले बलात्कारी र हत्यारालाई सजाय नगरेर प्रोत्साहन गर्ने सरकारको कामले यस प्रकारका श्रृंखलाहरु थपिंदै गएको तथा ओली सरकार निरंकुश र फासिवादी बाटोतर्फ लम्किँदै जान थालेकोले यसको नागरिकले विरोध र भण्डाफोर गर्नु पर्ने बताए ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर घर्ती, अखिल छैठौंका केन्द्रिय सदस्य खगेन्द्रा विष्ट, अखिल नेपाल किसान महासंघ जिल्ला सदस्य मनिराम खनाल लगायतले मन्तब्य राखेका थिए भने सहजीकरण जिल्ला सदस्य कृष्ण रानाले गरेका थिए ।