• मंसिर २० २०८१, बिहीबार

नगिजोलियोस् भागरथी हत्या अनुसन्धान

माघ २६ २०७७, सोमबार

समयसीमा लम्बिदै गएको छ बैतडीकी १७ वर्षीया भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरण अनुसन्धानको । घटनासँग सम्बन्धित तथ्यहरु केलाउने र अनुसन्धानको प्रक्रियालाई गति दिने स्पिरिटमा कमी त आएको छैन तथापि आशातित गति लिन सकिरहेको देखिदैन ।

२०७५ साल श्रावण महिनामा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानको प्रक्रियामा गरिएको जस्तो आयोगमाथि आयोग बननाइएको छैन । सुरक्षाकर्मी आफै प्रमाण मेटाउन पनि लागि परेका छैनन् । तथापि यो बलात्कारपछिको हत्या प्रकरणलाई नगिजोलियोस् भन्ने आमजनताको धारणा रहेको देखिन्छ ।

हत्या अनु्सन्धानका लागि स्थानीय प्रहरी प्रशासनले आफूले पहल पनि लिइरहेको छ । त्यसै गरी केन्द्रीय अनुसन्धान व्युरोको एक टोली पनि त्यहाँ पुगेको छ । अनुसन्धान आआफ्ना तर्फबाट होलान् पनि । तर एकले अर्कालाई प्रभाव पार्ने होइन, सहयोगीका रुपमा काम होओस् । आवश्यकताअनुसार समन्वय होओस् पनि तर एकले अर्कालाई ‘मिस्गाइड’ गर्ने काम नहोओस् ।

अहिले पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । रिपोर्टले भागरथीको बलात्कारपछि हत्या भएको प्रमाण दिएको छ । त्यसैले अब उप्रान्तको खोजीमा बदलाभाव, इष्र्या वा अन्य कुनै कारणले नभई भागरथीको हत्या बलात्कारपछि भएको प्रष्ट हुन आएको छ । यसले खोजीको दायरा केही साँगुरो बनाउन सहयोग गर्दै हत्याराको खोजी केन्द्रित बनाउन मद्दत गरेको छ ।

प्रहरी पनि प्राप्त डाटा विश्लेषण र ‘क्लु’ अनुसार शंकाको घेरामा रहेकालाई पछ्याउन लागि परेको देखिएको छ । यस पटक बायो, टेक्निकल तथा सामाजिक अन्तरसम्बन्धका बारेमा पनि अनुसन्धानमा केही प्रौढता देखिन थालेको छ । तर पनि अबको अनुसन्धानमा पुरानै तरिकाले निष्कर्षमा पुग्न सकिने देखिदैन । अनुसन्धानमा सुधार र नयाँपन आउनै पर्छ ।

बहुकेन्द्र बनाएर अनुसन्धान थालिंदा अनुसन्धानकै प्रक्रियामा बाधा उत्पन्न हुनसक्ने कुरालाई मध्यनजर गरी प्रक्रियालाई नगिजोलियोस् । यसको सरल तर वैज्ञानिक अनुसन्धान अघि बढोस् ।