वसन्त लम्सालको शब्द र संगीतमा रहेको गीत “ज्यानै फाल्नु पहिले”को भिडियो सार्वजनिक भएको छ।
सुगम संगीतका परिचित गायक हरि लम्सालको स्वरमा सजिएको सो गीतलाई किरण कंडेलले संगीत संयोजन गरेका छन्। मिक्सिङ्ग/माष्टरिङ्ग शम्भु तन्दुकरले सम्पन्न गरेको उक्त गीत प्रज्ञा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको प्रस्ततुतकर्ता टुवेल्स नोट्सले बताएको छ।
गीतमा नेपाली चलचित्रका वरिष्ट कलाकार राजेश हमाल,रिमा विश्वकर्मा र सिर्वानी थापा लगायतले अभिनय गरेका छन्। टुवेल्स नोट्सको युटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडियोलाई निकेश खडगाले निर्देशन गरेका छन् भने भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन्। बुद्धि थापाको क्यामराले छायाँङ्गकन गरेको सो गीतको भिडियो मार्फत आत्महत्या गर्न लागेका मानिसहरुलाई एकचोटी सोचेर जीवन रोज्नुपर्ने सन्देश दिन खोजीएको छ।
गीतमा भनिएको छ’ज्यानै फाल्नु पहिले आँखा चिम्लिएर सोच,मैले अहिले के गर्दैछु भनेर। तिमीले पुज्ने भगवानलाई सोच,आफनै असल कामहरु सोच,कर्मदिने बाबा अनि जन्मदिने आमा सोच ज्यानै फाल्नुभन्दा पहिले सोच। आफू मरिगएपछिको परिणाम सोच। जीवनमा हरेकले गल्ति गर्छ अनि अनेकौं मुस्किलमा पर्ने पनि मानिस नै हुने भएकोले जसले लडेर अघि बढ्न खोज्छ उस्ले नै जित्ने गर्छ। तिम्रो दह्रो आत्मवल जीउनलाई काफी छ तिम्रो अनमोल जीवन सामु हरेक गल्ति माफ हुन्छ।’
यस्तै गीतमा भनिएका जस्ता कुराहरु सम्झिदै आत्महत्या गर्न लागेको मानिस परिवारमा फर्केर आएको सन्देश गीतको भिडियो मार्फत दिइएको छ। त्यसकारण भन्न सकिन्छ यो गीत र यसको भिडियोमा जीवन छ। संघर्ष गरेर जिउनेहरुलाई गीत र यसको भिडियोले प्रेरणा दिएको छ।
गीत सुनेर र भिडियो हेरेर र यसबाट प्रेरित हुँदै गौरव घिमेरे टिप्पणी गर्छन,’जीन्दगीको यात्रामा अघि बढ्दै गर्दा आफूले रोजेको मार्ग बन्द हुन सक्छ, त्यो मार्ग छोडेर वरीपरी हेर्ने हो भने पनि प्रशस्तै अनेकौं मार्गहरु अवश्य भेटिन्छन्, सो नो टु सुसाइड।’ त्यस्तै भिडियोको प्रतिक्रिया स्वरुप प्रमोशन नेपालले लेखेको छ, ‘मृत्यु सबै खाले होस तर आफैले आफैलाई मार्नु नपरोस । जीवनमा आफू सँग हार्नु जस्तो पीडा अरु केही हुन्न । उत्कृस्ट सिर्जना। बधाई तथा शुभकामना गीतकार तथा संगीतकार बसन्त लम्साल एवम् सम्पूर्ण टिमलाई।’ यो गीतको भिडियो हेर्ने जो कोहिले जीवन जिउने प्रेरणा लिन सक्छ भन्न सकिन्छ जस्तै भिडियोको प्रतिक्रियामा ईश्वर पाण्डे लेख्छन्, ‘साह्रै प्रेरणादायी र सन्देसमुलक गीत । गीतको शब्द, गायनको लय तथा भिडीयो सम्पुर्ण मन पर्यो । गीतले तनाव तथा अन्य विभिन्न कारणले डिप्रेसनको सिकार भई आत्महत्याको प्रयास गर्नेहरुलाई रोक्न ठुलो मद्दत गर्नेछ । यो गीत सृजना गर्ने सर्जक तथा सम्पुर्ण कलाकारलाई मुरी मुरी धन्यवाद ।’