काठमाडौं । बुधवार सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको नेपाल प्रहरीद्वारा गरिएको लगातार पाँच दिनसम्मको अनुसन्धानपछि अपराधीसम्म पुग्न सकिने ‘क्लु’ भेटिएको अनुसन्धानमा खटेका प्रहरीले दाबी गरेका छन् । त्यो ‘क्लु’ के हो भन्नेमा स्पष्ट नपारिए पनि अब भागरथीका हत्यारा उम्कन नपाउने उनीहरुको दाबी छ ।
हत्याका बारेमा हत्याराको खोजी कार्य लम्बिन थालेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे त्यहाँ पुगी गरिएको अनुसन्धानको तौरतरिकाको बारेमा विचार विमर्श गरिरहेका छन् । सहयोगका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत त्यहाँ पुगिसकेको छ ।
२०७५ साउन ११ मा कञ्चनपुरस्थित भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको रहस्य अझैसम्म नखुलेकाले पनि भागरथी भट्टको हत्या त्यस्तै त हुने होइन भनी स्थानीय जनता निकै सशंकित बनिरहेका छन् । दैनिक ससाना प्रदर्शनमा जुटिरहेका स्थानीय अझै पनि छनबिनमा गम्भीरता नआएको भनी स्थानीय प्रशासनको आलोचना गरिरहेका छन् ।
अनुसन्धानमा खटेको प्रहरी टोलीले गरेको अनुसन्धानको सिलसिलालाई औल्याउँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले पछिल्लो समयमा ‘भागरथीका नजिकका साथी र उनी पढ्ने स्कुलदेखि घरसम्मको बाटो हिँड्नेसँग सोधपुछ गर्दा केही ‘क्लु’ पनि भेटिएकाले त्यसकोे विश्लेषण भैरहेको,’ बताएका छन् ।
यस अतिरिक्त घटनास्थल नजिकै भेटिएको भागरथीको मोबाइल पनि अनुसन्धानको अर्को आधार हुनसक्ने अनुसन्धानमा खटेका प्रहरीको विश्लेषण रहेको छ । यसको टेक्निकल अनुसन्धानका लागि काठमाडौंसँग समन्वय गरिएको पनि बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरी अधिकारीको आँकलन रहेको छ । पोस्टमर्टम रिपोर्ट भने अझैसम्म सार्वजनिक गरिएको छैन ।
छानबिनमा तीब्रता ल्याउने क्रममा आवश्यक पर्ने सबै पक्ष र पाटाहरुलाई एकपछि अर्को गर्दै अनुसन्धानको दायराभित्र ल्याउँदै गैरहेको बताइएको छ । तर अनुसन्धानमा भैरहेको ढिलाइले नागरिक दबाबको सामना गर्नुपर्ने देखिन थालेको छ । विद्यालय पछि भागरथी बुधवार दिउँसो २.० बजे खोचेलेक बजारमा देखिएकीले उक्त घटनामा बजारनजिकका व्यक्तिको संलग्नता हुन सक्ने देखाएको भनी अनुसन्धान केन्द्रित गरिएको देखिन्छ ।
बुधबार साँझ घर फर्कने क्रममा हराएकी उनको शब भोलिपल्ट बिहीबार साँझमात्र उनको घर नजिकैको लवलेक जंगलमा फेला परेको थियो । उनी स्थानीय सनातन माध्यमिक विद्यालय कक्षा १२ की छात्रा थिइन् ।