नेपालमा दुई दिनदेखि हिउँपानी परिरहेको छ । अघिल्ला वर्षहरुमा पानी बढि पर्ने र त्यसपछिका दिनमा मात्र हिउँ पर्ने गरे पनि यसपाला हिउँ नै हिउँदे वर्षाका रुपमा आएको छ । यसले ‘नहुनु मामाभन्दा कानो मामा निको’ भन्ने गराएको छ । किनकि हिउँदे बालीनाली या त वर्षाभावका कारण सुकिसकेका छन्, या त हिउँले भाँचिने अवस्थामा पुगिसकेका छन् ।
तथापि सुख्खा र बन्जर जमिन केही चिसो भएपछि यसले कृषकलाई राहत भने दिएको छ । यसबाट बालीनाली पनि केही हुने र घाँसपात पनि पलाउने अपेक्षा गरिएको छ । हिउँदको समयमा पानी नपर्दा परेको समस्या केही टरेको छ । असोज महिनाबाट नपरेको पानी अहिले हिउँ बनेर आएको छ । हिउँ पर्दा किसानमा छाएको खुशी शायद नेपाली भोको पेटमा आएको बहार र उपहार पनि हो ।
हिउँपानी परेसँगै कृषकले लगाएका बालीनाली तथा सागपात तरकारीले मुन्टो उठाउन थालेका छन् । बेमौसी तरकारी, फलफूल तथा नगदे बालीमा पनि यसको राम्रै असर पर्ने देखिएको छ । हिउँदे हिउँले माटोमा चिस्यान ल्याएपछि गरेको खेती केही भए पनि हातलाग्ने किसानको आशा जागेको छ । वर्षा नभएपछि बाँझै रहेका खेतबारी मकै खेतीका लागि बाँझो मार्ने अवस्था सिर्जना भएको छ । कतिपय उच्च पहाडी भेगमा त मकै छर्ने र अन्य बाली लगाउने अवसर पनि कृषकलाई जुटेको छ ।
बुकी तथा चरनहरुमा घाँसपात पलाउने भएकाले पशुपालन पनि केही सहज हने कुराले पशुपालक किसानमा खुशी ल्याएको छ ।