विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड-माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।
भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।
नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताए । ‘विहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ,’ उनले भने, ‘बैठकबाट केही विकल्प निस्कियो भने छलफल अघि बढ्छ । तर १६ जनालाई प्रवेश गरे बैठकमा हामी नियमापत्ति गर्छौं ।’ उनले कारवाहीमा परेकाहरुलाई संसदीय गतिविधिमा समावेश नगर्न नमिल्ने तर्क गरे ।
प्रचण्ड-माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारवाहीको च्याप्टर क्लोज भइसकेको बताउँछन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारबाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले भने, ‘कारबाही उहाँहरुको राजनीतिक प्रपोगाण्डा मात्रै हो ।’
प्रचण्ड-माधव समूहले पनि मुख्यमन्त्री शेरधन राईसहित ओली समूहका ८ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर प्रदेशसभा बैठकमा प्रचण्ड-माधव समूहले निलम्बनको विषय उठाएको छैन ।