जापानमा नेपालीहरुको संख्या करिव १ लाख पुग्न लागेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले २ फेब्रुअरीमा सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६२८ पुगेको छ ।
मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्या ५.८ प्रतिशतले बढेको छ । सन् २०१९ को सुरुवातमा जापानमा नेपालीको जनसंख्या ९१ हजार ७७० रहेकोमा वर्षको अन्त्यमा ९६ हजार ८२४ रहेको तथ्यांक सार्वजनिक भएको थियो।
व्यवसायिक, प्राविधिक क्षेत्रअन्तर्गत जापानमा रहेका नेपालीहरुको जनसंख्या १७,०१७ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले धेरै हो । यसअन्तर्गत प्रविधि र मानविकी, ज्ञान तथा अन्तर्राष्ट्रिय व्यापारमा १२,९४२ जना नेपाली रहेका छन् । यसमा पनि गत वर्षको तुलनामा १३ प्रतिशत नेपालीको संख्यामा वृद्धि भएको छ।
ताजा तथ्याङकअनुसार जापानमा सन् २०२० को अन्त्यसम्ममा विशिष्ट गतिविधि अन्तर्गत विशेष दक्षतायुक्त भिसा पाएका नेपालीको संख्या गत वर्ष २.५ प्रतिशतले वृद्धि भएको छ । हाल यो भिसाअन्तर्गत रहेका नेपालीको संख्या जापानमा २,५२९ जना रहेका छन् ।
प्राविधिक प्रशिक्षार्थी कामदारको रुपमा रहेका नेपालीको संख्या अहिले जापानमा केवल ६४४ रहेको छ । यसमा सन् २०१९ को तुलनामा मात्र ०.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
जापानमा रहेका नेपालीहरुको तथ्याङकमा सबैभन्दा धेरै नन क्वालिफाइड एक्टिभिटि पेशामा आवद्ध नेपालीहरुको संख्या रहेको छ । यसअन्तर्गत सन् २०२१ को ताजा तथ्याङकअनुसार जापानमा नेपालीको संख्या ७४,६७३ रहेको छ । यसमा अध्ययनरत विद्यार्थीहरुको संख्या समेत समावेश गरिएको छ । जापानमा नेपाली विद्यार्थीहरुको संख्या ४४,०४३ पुगेको छ । यो जापानमा भाषा विद्यालय, विश्वविद्यालयसहित सबै तहमा अध्ययनरत नेपालीको संख्या हो ।
निवासको आधारमा जापानको स्थायी निवासी भएका नेपालीको संख्या २,३५७ पुगेको छ ।
जापानी महिला वा पुरुषसँग घरबार गरेर बसेका नेपालीको संख्या १,१७० रहेको छ । यसमा जापानको स्थायि निवासको दर्जा प्राप्त गरेका नेपालीको संख्या ५३३ पुगेको छ । यसैगरी तेईजु प्राप्त गर्ने नेपालीको संख्या जापानमा ७०४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ।
कार्यक्षेत्रअन्तर्गत पेशागत आधारमा कन्स्ट्रक्सन ‘निर्माण उद्योग’मा कार्यरत नेपालीको संख्या ७५९ रहेको छ । यसैगरी म्यानुफ्याक्चरिगं क्षेत्रमा कार्यरत नेपाली १२,६८२ जना रहेका छन् ।
जापानमा रहेका नेपालीहरुको पेशागत आधारको निवासस्थिति अनुसार सूचना र संचार उद्योगमा ६६१ जना नेपाली कार्यरत छन् ।
भिसाको स्थिति अनुसार खुद्रा तथा होलसेल व्यापार क्षेत्रमा १६,५३९ जना नेपाली छन् ।
सबैभन्दा धेरै पेशागत कार्यक्षेत्र अन्तर्गत जापानमा आवास व्यवसाय, सेवा उद्योग (खाने तथा पिउने होटल, रेष्टुरेण्ट) क्षेत्रमा कार्यरत नेपालीको संख्या २९,२५८ पुगेको छ ।
शिक्षा अध्ययन, अध्यापन तथा सहायता क्षेत्रमा जापानमा ४७६ नेपाली कार्यरत छन् ।
सेवासहित अन्य विविध क्षेत्रमा कार्यरत रहेका नेपालीको संख्या २५,६०१ जना रहेका छन् ।
चिकित्सा स्याहार तथा सामाजिक कल्याण क्षेत्रमा कार्यरत नेपालीको संख्या जापानमा सन् २०२१ मा ८१३ जना नेपाली रहेका छन् ।
जापानमा नेपालीको बसोबास सन् २००८ मा केवल १२,२८६ रहेको थियो । त्यसमा उच्च वृद्धि हुने क्रममा सन् २०१६ मा ५२,७७० पाइएको थियो ।
जापानमा नेपालीको वृद्धि त्यसयता लगातार भइरहेको छ । जापानको सरकारी तथ्याङक अनुसार २०१७ मा ६९,१११ जना नेपाली रहेकामा २०१८ मा त्यो संख्या ८१,५६२ पुगेको थियो ।
जापानमा हाल विदेशी नागरिकको संख्या १७ लाख २४ हजार ३ सय २८ पुगेको छ । यसमा सबैभन्दा धेरै भियतनामी नागरिक रहेका छन् । चिनियाँहरुको संख्यालाई उछिन्दै पहिलो पटक उच्च संख्या पुग्ने क्रममा जापानमा भियतनामीहरुको संख्या ४,४३,९९८ पुगेको छ ।
दोस्रोमा चिनियाँ नागरिक ४,१९,४३१ रहेका छन् । तेस्रोमा फिलिपिनी १,८४,७५० तथा चौथो नम्वरमा ब्राजिल १,३१,११२ रहेका छन् ।
पाँचौं नम्बरमा भने नेपाल रहेको छ । नेपालीहरुको जनसंख्या जापानमा सन् २०२१ फेब्रुअरी २ तारिखको तथ्याङ्कअनुसार ९९,६२८ रहेको छ ।
अष्ट्रेलिया, अमेरिका, बेलायत तथा न्युजिल्याण्डका नागरिकको संख्या ८०,४१४ रहँदा दक्षिण कोरियालीको संख्या ६८,८९७ रहेको छ । यस बाहेक इण्डोनेशियाली ५३,३९५ र पेरुका नागरिक २९,०५४ रहेका छन् ।