• मंसिर १२ २०८१, बुधबार

‘अदालतमा विचाराधिन विषयमा सडकआन्दोलन गर्नुको कुनै तुक छैन’: डा. दीक्षित

माघ २४ २०७७, शनिबार

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली चुनावका लागि तयार रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित भएको पनि सुनाउनुभयो ।

राजधानीमा शनिबार भएको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, ‘केपी ओली चुनावको लागि रेडी हुनुहुन्छ । प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछ । भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन् ।’

दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भएपनि निर्वाचनमा जाने दाबी गर्नुभयो । चुनाव हुने भयो भने कोही पनि पाँच वर्षको लागि बाहिर नबस्ने भन्दै उहाँले सबै दल निर्वाचनमा जाने ठोकुवा गर्नुभयो ।

डा. दीक्षितले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जिकिर गर्नुभयो । अदालतमा विचाराधिन भएको विषयमा यसरी सडकमा आन्दोलन गर्नुको कुनै तुक नहुने उहाँको भनाइ छ । उहाँले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन चाहिने आवश्यकता औंल्याउनुभयो ।