(नेपालमा पछिल्लो पटक राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता महत्वपूर्ण पदमा महिलाकै उपस्थिति रहेका बेला यता नेपाल उद्योग वाणिज्य महासंघमा पनि इतिहासमै पहिलो पटक भवानी राणा अध्यक्ष हुन सफल भइन् । समाजमा महिलाले केही गर्न सक्दैनन् भन्नेहरुलाई यी उच्च पदस्थ महिलाले काम गरेर देखाइदिएका छन् । भर्खरै मात्र निवर्तमान भएकी भवानी राणाले पनि आफ्नो ३ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेकी छिन् । उनले महासंघमा लगभग ४ वर्षसम्म अध्यक्ष भई निभाएको सक्रिय भूमिका निकै प्रशंसनीय छ । नेपाल उद्योग व्यापार महासंघमा सदस्य भएदेखि १५-१६ वर्ष निरन्तर काम गरेर योगदान दिंदै गर्दा महिला उद्यमी महासंघको पनि अध्यक्ष भएर काम गरिन् । इन्डो-नेपालको विजनेस फोरम, साना तथा मझौला विश्व व्यवसाय संगठनमा नेपालको तर्फबाट क्रियाशील भूमिकामा रहेकी राणाको अहिले पनि विभिन्न संघसंस्थामा क्रियाशील आबद्धता कायमै छ । कोभिड-१९ को महामारीका बेला नेपाली जनताको हकहितका लागि आफ्नो ज्यानलाई जोखिममा राखेर पनि काम गर्न पछि नपरिरहेकीे साहसी एवम् सफल महिला नेतृत्वसँग पत्रकार दीपा आलेले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ- सं.)
कोभिड-१९ को महामारीमा कसरी काम गर्नु भयो ?
केही समयअघि नेपाली अर्थतन्त्रको केही द्रुत गतिमा विकास हुन कठिनाइ भइरहेको थियो । देशमा राजनीतिक अस्थिरता थियो । संविधान निर्माण पछि राजनीतिले स्थिरता प्राप्त गर्दै गयो । त्यति बेला म उद्योग ब्यापार संघमा कार्यकारी भूमिका निभाउँदै आएकी थिए । यति नै बेला विश्वलगायत नेपाल पनि कोरोना भाइरसले आक्रान्त हुन पुग्यो । त्यसपछि सबै उद्योग, व्यापार, कल, कारखाना बन्द भए । कोरोना आएपछि हरेक मानिसको जीवन अझ बढि संघर्षमय बनाइदिएको छ । नेपाल एउटा सानो अर्थतन्त्र भएको देश हुनाले पनि कोरोनाले गर्दा ठूलो धक्का पर्न गएको छ । नेपाल लगायत विश्वका मानिसले बाँच्नका लागि संर्घष गर्नु परिरहेको छ ।
कोरोना आउने बित्तिकै हामीले निकै सतर्कतापूर्वक आफ्नो सामाजिक दायित्वको खोजी गर्यौं । उद्योग वाणिज्य महासंघ नेपाली अर्थतन्त्रको नेतृत्व गर्ने साझा संस्था भएकाले पनि हामीले सामाजिक दायित्वतर्फ सधैं ध्यान दिँदै आएका छौं । यो बेला हाम्रो सामाजिक दायित्व भनेको कसरी यो कोरोनाबाट हाम्रो नेपाली जनता दाजुभाइ, दिदीबहिनी, साथीभाइलाई बचाउने भन्नेमा केन्द्रित रहेको छ । आफ्नो व्यवसाय थाती रहोस् तर दैनिक जनजीवन सामान्यीकरण गर्न के गरी आपूर्ति असहज होला भनेर उद्योगधन्दा खुला राख्न प्रयत्नरत रह्यौं । यसले रोजगार पाएकाहरुमा खाद्यान्न आपूर्ति, वितरण तथा सहकार्यमा ठूलो भूमिका खेल्यो । सरकारको सहयोगमा उद्योग तथा बाणिज्य मन्त्रालयसँग सहकार्य गरेर खाद्यान्न, औषधिलाई निरन्तर जनताको घरदैलोमा पुर्याउने काम गर्यौं ।
आफ्नो तर्फबाट सरकारलाई समेत सहयोग गर्यौं । नेपाली जनतालाई सहयोग मिलोस् भनेर हामीले त्यसरी काम गरेका थियौं ।
त्यो समयमा मास्कसमेत जताततै पाइने अवस्था थिएन । त्यसको लागि पनि पहल गर्यौं । उद्योगधन्दा बन्द भएपछि बैंकमा सावा ब्याज तिर्न नसक्ने अवस्था आइपरेपछि त्यसका लागि हामीले केही सार्थक पहलसमेत् गर्यौं । सकभर काम गर्दै आएका कामदारले रोजगार गुमाउन नपरोस् भनेर उनीहरुको क्षमताअनुसार ऋण लिएर भए पनि काम गर्न सक्ने वातावरण निर्माणका लागि सरकारसँग सहकार्य गर्यौं । अर्थतन्त्रलाई बचाउनका लागि फाइदाभन्दा पनि हाम्रो उद्योग तथा कलकारखाना बन्द नहोऊन् भनेर लाग्यौं । सरकारसँग राहत प्याकेजका लागि अनुरोधसहित ऋण लएको ब्याज घटाउनु पर्छ भनेर लाग्यौं । यातायात, मनोरन्जन, पर्यटन क्षेत्रको हकमा अझ धेरै राहात दिने कुरामा भूमिका खेल्यौं । कोभिड–१९ को महामारीसँगै नेपाली अर्थतन्त्रमा चुनौती थपिएको छ । थपिएको यो चुनौतिबाट अर्थतन्त्रलाई बचाउन सरकारी र निजीक्षेत्र मिली सहकार्य गर्दै अघि बढ्नुपर्छ ।
कोरोनाका कारण उद्योग कलकारखाना सरकारले बन्द गरेपछि सरकारको विरुद्धमा आन्दोलन गर्नुभयो किन ?
कोभिड-१९ लागेपछि चारैतिर आर्थिक क्रियाकलाप बन्द भयो । देशमा लकडाउन सुरु भयो । त्यसपछि रोगलेभन्दा पनि भोकले मानिस बढी मर्न थाले । मानिसले आत्महत्या समेत गर्न थाले । त्यसपछि रोगसँग लड्दै नेपाली अर्थतन्त्रलाई अघि बढाउन सरकारसँग हामीले स्वास्थ्य सुरक्षा मापदण्डभित्र रहेर काम गर्नेछौं, हामीलाई तदनुकुलको वातावरण निर्माण गर्न दिइयोस् भन्यौ । कोरोना सँगसँगै जीउन सिक्नु पर्यो । नेपालमा तथ्यांक हेर्दा कोरोना माहामारीभन्दा पनि भोक र शोकले मरेको देखियो । स्वास्थ्य मापडण्ड अपनाएर काम गर्ने कुरा सरकारलाई भनेर कुरा पहल थाल्यौं पनि । यो बेला विदेशबाट रोजगार गुमाएर कयौं युवाहरु स्वदेश आएका छन् । उनीहरुलाई पनि रोजगार दिनुपर्छ, त्यसका लागि रोजगार सिर्जना गर्नुपर्छ भनेर पनि सरकारसँग कुरा गर्यौं ।
यहाँसम्म आउँदा के कस्ता चुनौती भोग्नु भयो ?
सुरुमा उद्योग महासंघमा मनोनियत भएर गएकी थिए । बिस्तारै काम गर्दै अघि बढे । त्यो ठाउँमा पूरै पुरुष नै पुरुष नै हुन्थे । महिला त म मात्र थिए । मलाई त सुरुमा अप्ठयारो लाग्थ्यो । १८ जनाको कार्यसमितिमा म एक जना महिला थिए । त्यसपछि मेरो काम देखेर अन्य साथीभाइले तपाई त काम गर्न सक्नुहुन्छ किन मनोनियत भएर आउनु हुन्छ, अब चुनावबाट आउनु पर्छ भनेर सल्लाह सुझाव दिनु भयो । केन्द्रीय सदस्यमा मैले चुनाव लडे । मलाई चुनावमा दुवै पक्षबाट अत्यधिक मत दिएर जिताउनु भयो । पहिलो पटक उद्योग ब्यापार महासंघमा पहिलो महिला केन्द्रीय सदस्य भएर चुनाव जिते । त्यतिबेला १८ जनामा १ जना महिला थिए, काम गर्न सजिलो पनि थियो । पछि साथीभाइले उपाध्यक्षमा पनि जानुपर्छ भन्ने सल्लाह दिनुभयो । तर उपाध्यक्षमा चुनावमा उठ्न भने चुनौती थियो । किनकि विभिन्न क्याबिनेट बैठकमा जानु पर्दथ्यो । म महिला हो तथापि म चुनावको बेला रातबिरात हिंड्नु हुँदैन भन्ने सोच राख्न मिल्दैन थियो । फेरि म जुन परिवारबाट आएकी थिए, त्यति बाहिर जाने अवस्था थिएन । तर पनि एउटा महिलालाई अघि बढ्दै गर्दा उसको घर परिवार उसको श्रीमानले आवश्यक साथ दिन सक्दा सफलता हासिल गर्न सकिदो रहेछ । म सफल हुनुको कारण पनि मेरो परिवारको साथ र सहयोगले ठूला काम गरेको छ ।
हिजोको दिनमा के तपाई महासंघको अध्यक्ष बन्छु भनेर सोच्नु भएको थियो ? कसबाट प्रेरणा पाउनु भयो ?
काठमाडौंमा हुर्किए । मेरो अध्ययन काठमाडौंकै राम्रो स्कुलमा भएको थियो । पहिला मेरो बेलामा प्रायः सबै डक्टर कि इन्जिनियर बन्ने भन्ने हुन्थ्यो । अहिलेजस्तो टेक्निकल शिक्षा थिएन । तर मलाई त्यो क्षेत्रतिर कुनै रुची थिएन । मेरो बुवा अंचलाधीशमा सरकारी सेवामा हुनुहुन्थ्यो । जसले गर्दा म नि बुवाको साथमा बाहिर जान्थे । बुुवाले गर्नु भएको काम देखेर प्रभावित भए । मभित्र मैले पनि लिडरशिप गर्नुपर्छ भन्ने चाहना जाग्यो । मेरो बुवाको चाहना पनि महिला स्वयम् आर्थिक रुपमा सक्षम होस् भन्ने थियो । आमाको चाहना उद्यमशीलतामा भए पनि बुवाको उत्प्रेरणाले गर्दा जहाँ पनि नेतृत्व तहमा जानुपर्छ भन्ने लागेको हुनाले पनि आज म यो म स्थानमा पुग्न सफल भएकी हुँ ।
युवा वर्गलाई नेपालमै आत्मनिर्भर बनाउन अब कस्तो खालको शिक्षा नीति बनाउनु पर्छ होला ?
अहिले कोभिडको महाारीले हाम्रो देशलाई निकै नै पछाडि धकेलेको छ । अब त्यतिकै नबसी यसलाई अवसरको रुपमा लिनु पर्छ । हाम्रो देशमा भएका स्रोतसाधनलाई सदुपयोग गर्दै जानुपर्छ । नेपालमा पर्यटन क्षेत्र, कृषि क्षेत्र, जलविद्युत क्षेत्रलाई प्रयोग गर्न सके नेपालमै युवा वर्गले रोगजार पाई आत्मनिर्भर हुन सक्दछ । युवाजनशक्तिलाई नेपालमै टिकाइ राख्नका लागि अहिले सरकार र निजी क्षेत्र एकजुट भएर लाग्नुपर्छ ।
राज्यको हरेक निकायमा पुग्न महिलालाई चुनौती छ नि, किन होला ?
महिलालाई राज्यको हरेक निकायमा पुग्नकोलागि अवसर दिनुपर्छ । विशेष गरी महिलालाई राज्यको हरेक निकायमा पुराउनका लागि समावेशी समानुपातिकको अवश्यकता छ । किनकि अहिले पनि महिला पुरुषको तुलनामा महिला निकै नै पछाडि छन् । यदि महिला पुरुषमा समनता हुन सके देशको विकासमा टेवा पुग्नेछ । महिला राज्यको हरेक निकायमा पुग्न योग्य हुनेछन् । महिला स्वयम् पनि सक्षम र दक्ष हुनुपर्छ ।
तपाईंको जीवनमा सम्झनै पर्ने सुखद पक्ष र दुःखका क्षण केही छन् ?
मलाई तब खुशी लाग्छ, जब कसैका लागि मैले मद्दत गर्न सकूँ । चाहे मेरो घर परिवारमा होस् या त समाजका लागि नै । त्यति बेला मलाई निकै खुशी लाग्छ । संसारमा सबैको आआफ्ना कथा हुन्छ । संघर्षविना कसैको पनि जीन्दगी चल्दैन तर दुःख आयो भने मानिस नकारात्मक नभई सकारात्मक सोंच लिएर अघि बढ्नुपर्छ । हरेक मानिसले खाल गर्नु पर्ने कुरो म धर्तीमा जन्मेपछि मैले आफ्नो परिवार र अरुका लागि के गर्न सके भनेर सोच्नुपर्छ ।
तपाईको सफलताको राज के हो ?
म आध्यामिकतामा पनि विश्वास गर्छु । मानिस जन्मेपछि जीवनमा एउटा लक्ष्य लिएर अघि बढ्नुपर्छ । मानिस जन्मेपछि समाजमा केही गर्नुपर्छ भन्ने सोंच बोक्नुपर्छ । साथै, सफल व्यक्ति बन्नका लागि सकारात्मक सोंच हुन जरुरी छ । म पहिल्यैदेखि नै सकारात्मक सोंच भएकी व्यक्ति हुँ । सफल हुनका लागि मेहेनत पनि गर्नुपर्छ । जीवनमा काम गर्दै जाँदा सफलता र असफलता हुन्छ । यदि असफलता भयो भने पनि त्यसलाई सकारात्मक सोंच लिएर जानुपर्छ । असफल किन भयो त भनेर त्यसलाई सिकाइको रुपमा लिएर अघि बढ्नु पर्छ । हरेक मानिस सफल हुनका लागि पहिलो कुरो सकारात्मक सोंच हुनुपर्छ । आफूले आफूलाई विश्वास गर्नु पर्छ । मेहेनती हुनुपर्छ । साथै, सफल हुनका लागि सहनशीलताको पनि ठूलो आवश्यकता पर्छ । जीवनमा जन्मिसकेपछि लक्ष्य लिएर अघि बढ्नु पर्छ ।
अन्तिममा तपाईको व्यापार के छ र भावी योजना के सोच्नु भएको छ ?
मेरो व्यापार भनेको पर्यटन क्षेत्र हो । विशेष गरी नेपालगन्ज क्षेत्रलाई बेस बनाएर पर्यटन उद्योग र कृषिमा ठूलो अवसर देखेकी छु । हुन त मैले पहिलेदेखि नै नेपालगन्जमा व्यापार व्यवसाय गर्दै आएकी छु । यी क्षेत्रमा विकास गर्न सके आउने दिनेमा ठूलो फड्को मार्ने थियो । किनकि नेपाल र भारतीय नाका भएको हुनाले र धेरैभन्दा धेरै मानिसको बसोबास भएकाले पनि पर्यटन उद्योग र कृषि क्षेत्रमा ठूलो सम्भावना देखेकी छु ।
समग्र महिलालाई आर्थिकमा सक्षम बनाउन र आफ्नै देशमा स्वरोजगार बनाउन के गर्नु पर्छ भावी योजना के छ ?
एक जनाले मात्र गरेर हुँदैन । मैले त पहल मात्र गरिदिने हो । महिला स्वयम्ले हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ । महिलालाई आर्थिक रुपमा उकास्न आर्थिक कोष पनि हुनुपर्छ । हुन त हाम्रो समाज पितृसत्तात्मक सोंचले ग्रसित छ । यसले गर्दा महिलाले चाहेर पनि काम गर्न सकिरहेका हुँदैनन् । तर समय सँगसँगै मानिसको सोंचमा पनि परिवर्तन हुँदैछ ।
त्यसले गर्दा महिला पनि हिम्मतका साथ अघि बढ्नु पर्छ । राज्यले पनि महिलालाई आर्थिक रुपमै सक्षम बनाउन कार्ययोजना ल्याउनु पर्छ । नेपालमा भएका युवा तथा महिलालाई दक्ष र क्षमतावान बनाउन विभिन्न तालिम दिन सक्नुपर्छ । उनीहरुका लागि स्वदेशमै स्वरोजगारको अवसर दिलाउन सरकार र निजी क्षेत्रले ठूलो भूमिका खेल्नुपर्छ ।