२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश ओली समूहले नारायणहिटी संङ्ग्रालय अगाडि आयोजना गरेको बृहत् जनसभामा देशैभरबाट हजारौँको संख्यामा कार्यकर्ता जम्मा भएका थिए ।
तीमध्ये उपत्यकाभित्र र बाहिरबाट सहभागी भएका केही कार्यकर्तालाई हामीले असंरचित प्रश्नावलीमार्फत प्रधानमन्त्री केपी शर्मा ओली कस्ता नेता हुन् ? भन्ने बारेमा सोधेका थियौँ । हामीले सोधेको उक्त प्रश्नावलीको उत्तर दिनेमध्ये केही प्रतिनिधिहरू यसो भन्छन्,
चितवनकी सञ्जु अधिकारी मन खुम्च्याएर भन्छिन्, –‘ओलीजीले पनि देश बनाउनु होला जस्तो त लाग्दैन । आफू शक्तिशाली प्रधानमन्त्री हुँदाहुँदै पनि खासमा संसद विघटन नगर्नुपर्ने थियो । बरु पार्टीभित्र आन्तरिक संघर्ष गरेरै भए पनि पाँच वर्षसम्मका लागि सत्ता सञ्चालन गर्नुपथ्र्यो । अब त खै गाह्रो छ ।’
बुटवलकी सिर्जना तिवारीको धारणा यस्तो छ, –‘उहाँ नराम्रो नेता त हुँदै होइन । तर, उहाँको सचिवालयको टिमले ओलीजीलाई तथ्यहीन रिपोर्टिङ गरिदिने भएकोले होला, अधारहीन कुरा बोल्नु हुन्छ । सायद आजको आमसभामा पनि यस्ता केही प्रसंग जोड्न सक्नुहुन्छ, सुनौँ ।’
धादिङका दिपेश राना मगरले भने, –‘प्रधानमन्त्री ज्यू ! जति खुलेर भाषण गर्नुहुन्छ, त्यसको ठीक विपरीत काम गर्नुहुन्छ क्या ! काठमाडौंमात्रै नेपाल सम्झिनु हुन्छ । काठमाडौं बाहिर भएर एकपटक हेर्दा हुन्छ, नेपाल कस्तो छ ? मलाई त उहाँ पनि प्रचण्ड–नेपाल जस्तै लाग्छ ।’
त्यस्तै अर्का सहभागी काठमाडौं सुन्धाराका नवीन श्रेष्ठ यसो भन्छन्, –‘ प्रधानमन्त्री ओली ज्यू ! मलाई त कस्तो लाग्छ भने कान चिरिएको जोगी जस्तो लाग्छ । काम नगर्ने, गरौँला–गरौँला भन्दै समय बिताउने र अन्तरकलह सिर्जना गरि आफै नाङ्गीने ।’
यी त थिए, शुक्रबार (आज) को ओली समूहले आयोजना गरेको बृहत् आमसभामा सहभागी केही प्रतिनिधिहरूको भनाइ ।
तथापि उक्त सभामा सहभागी अधिकांश प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्टि देखिएका छन् । कतिपयले ओलीको कदमविरुद्ध खुलेर भन्न नसके पनि मनमारेरै संविधान विघटन नगर्नुपर्ने धारणा राख्छन् । पार्टी एक ढिक्का भएकै राम्रो पनि बताएका छन् ।
ओलीकै कारण पार्टी फुटको डिलमा पुगेको संज्ञा दिएका छन् । उनीहरूमध्ये केहीले ओलीको आलोचना गरेपनि केहीले भने खुलेर प्रशंसा गरेका छन् । उनको कदमको प्रशंसा गर्दै आफूहरूका लागि चुनाव नै उत्तम विकल्प भएको बताउँछन् ।
विघटित संसद पुनस्र्थापना हुनुभन्दा नहुनु नै बेस भएको उनीहरूको तर्क छ । आफूहरूका लागि ताजा जनादेश नै उपयुक्त भएको भन्दै ओलीलाई खुलेर समर्थन गर्छन् । ओली नै देशका लागि सर्वोपरी भएको बताउने उनीहरू ओलीलाई नै भरोसा गर्छन् ।
तथापि आजको बृहत् जनसभामा सहभागी अधिकांशले ओलीको कदम अर्थात् संसद विघटनप्रति रोष व्यक्त गरेका छन् । पार्टी एकढिक्का भएर जनतामाझ जानुको साटो टुक्तिएर जानु उचित नहुने बताउँछन् । यद्यपि यसबारेमा खुलेर भन्न हिच्किचाएका थिए ।
आज नाराणहिटी सङ्ग्रालय अगाडि सम्पन्न ओली समूहको बृहत् जनसभामा उपत्यका र उपत्यका बाहिरबाट झन्डै १३ हजार कार्यकर्ता उपस्थित भएका थिए । ती कार्यकर्तालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।