काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने भएपनि काँग्रेस फाइदामा मात्र नहिड्ने बताएका छन् ।
नेपाली काँग्रेस रामपुर नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाटमा उनले भने, ‘काँग्रेस त सिद्धान्तमा हिँड्ने पार्टी हो नि । चुनाव नै सबै लोकतन्त्र हो भन्ने पनि होइन । संविधानमै टेकेर चुनावमा जानु नै लोकतन्त्र हुन्छ । यो कुरा बुझौँ ।’
नेता पौडेलले भने, “माक्र्सवादले धर्म भनेको अफिम हो भन्छ । कम्युनिस्ट पार्टीबाट हुन्छ प्रधानमन्त्री । त्यो प्रधानमन्त्री होटेलमा ठूलो समारोह गरेर होलीवानको होली खेल्छ । एकातिर होलीवानको होली खेल्छ, अहिले आएर पशुपतिमा अर्को नाकट देखाएर हिन्दुको कुरा गर्छ । यस्तो पाखण्डी काम गर्नुहुन्छ ।”
राज्यमा एक धर्मलाई च्याप्ने र अर्को धर्मलाई फ्याक्ने काम गर्न नहुने पौडेलले बताए । ‘राज्यभित्र सबै धर्म अटाउँछन् । सबै संस्कृति अटाउँछन् । अहिले धर्मका नाउँमा हिँडेका नेताहरुको खोलेर हेर्दा जनै पनि छैन होला । तर मेरो खोलेर हेर्नु भो भने जनै छ, आफ्नो जनै देखाउँदै पौडलले भने म चाहिँ हिन्दु हो । अहिले पनि पुजा गर्छु । हरेक दसैंमा नवदुर्गाको पाठ पढ्छु । यो मभित्रको आस्था हो । तर म यसलाई राज्यमा लाध्दैन । अन्य धर्ममाथि थोपर्न चाहन्न । बिपी कोइरालाले पनि त्यही गरेका हुन् ।’
देश र जनतालाई भ्रममा पार्दै ओलीले यस्तो पाखण्डी काम गरेको उनको आरोप छ । फरक प्रसंगमा नेता पौडेलले संसद पुनःस्थापनाको विकल्प नभएको बताए ।