काठमाडौं । विभाजित नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ गएको दावी गरेका छन् । शुक्रबार ललितपुर जिल्ला समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीको एकतापछि देश बनाउने लक्ष्य थियो तर, केपीको नियत जालझेल मात्रै रहेछ ।’
उनले सहि विचार र नेतृत्व भए सामन्तवाद पराजित गर्न सकिने भन्दै ‘नेतृत्वको विचार गलत हुँदा सबै बिग्रिएको’ बताए । उनले सात दशक लडेर ल्याएको संविधान र संघीयता ओलीका कारण नै संकटमा पुगेको दावी गरे ।
‘देश अँध्यारो सुरुङमा गयो ओलीका कारण । वाम गठबन्धन गर्दा हामीले अहिलेको दिन आउला भन्ने सोचेका थिएनौँ’ प्रचण्डले भने, ‘संविधान र लोकतन्त्रको रक्षाका लागि जनतासँग जोडिएर आन्दोलनमा जानुको विकल्प छैन भनेर आन्दोलनमा गयौं ।’