• मंसिर १२ २०८१, बुधबार

गृहमन्त्री थापा भन्छन् -मांसहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जु’ मा थुनिनेछ

माघ २३ २०७७, शुक्रबार

काठमाडौँ। नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको ‘जु’ मा लगेर थुन्ने चेतावनी दिएका छन्। आज ओली समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी तरिकाले हटाइनेछ भनेर घोषणा गर्दै हिँडेका छन्’ उनले भने ‘त्यस्तालाई जाउलाखेलको जु मा बन्द गरिनेछ । ’

उनले देशमा तेस्रो जनआन्दोलनको थालनी भएको पनि बताए । ‘अस्थिरतालाई जनताले मात्रै सामान्य अवस्थामा ल्याउन सक्छन् । आज देशमा असाधारण परिस्थित सिर्जना भएको छ । आज देश आन्दोलित भएको छ । अस्थिरताको विरुद्ध देश उत्रिएको छ,’ उनले भने, ‘संविधानको रक्षाको निम्ति आन्दोलित भएको छ । जनआन्दोलनको थालनी भएको छ । आज यस प्राङ्गणमा लाखौँको संख्याको जनताको उपस्थितीले तेस्रो जनआन्दोलन सुरु भएको छ भन्ने स्पष्ट गरेको छ ।

उनले देश निर्वाचनको माध्यमबाट आन्दोलनमा होमिएको पनि बताए । उनले आगामी निर्वाचनबाट समाजवाद र समृद्धि प्राप्त हुने पनि दाबी गरे । उनले नारायणहिटी दरबार अगाडि कार्यक्रम गणतन्त्रको रक्षाका लागि गरिएको पनि बताए । ‘यसले एउटा सन्देश दिएको छ । हामी गणतन्त्रको रक्षा गर्न सक्षम छौँ भन्ने सन्देश दिएको छ’ उनले भने, ‘नारायणहिटीको अगाडि गणतन्त्रको रक्षाको गर्न राजतन्त्रको स्थापना जन सभाको आयोजना गरिएको हो ।’