• मंसिर ११ २०८१, मंगलवार

धर्मभन्दा विज्ञान ठूलो: किन र कसरी ?

माघ २३ २०७७, शुक्रबार

विश्व मानव समाज आजका दिनमा विज्ञान र प्रविधिको चामत्कारिक विकासका कारण अद्वितीय अवस्थामा छ । यो आफैमा मानव निर्मित साझा सम्पत्ति हो, तर पनि उपलब्धिहरु कसका हातमा छन् भन्ने कुराले ठूलो प्रभाव पार्दछ । मान्छेले प्राप्त गरेको यो वैज्ञानिक उपलब्धि विश्वका उत्पीडित जनताको हितमा हुन्छ कि हुँदैन भन्ने कुरा मुख्य हो । मानवजाति पृथ्वीमा मात्र नभई ब्रह्माण्डमा जित हासिल गर्ने दौरानमा छ ।  यस अघि कुनै समय पृथ्वी ब्रम्हाण्डको केन्द्र रहेको मानिन्थ्यो र सूर्य यसै पृथ्वीको वरिपरि घुम्छ भन्ने ठानिन्थ्यो । वैज्ञानिक ग्यालिलियो ग्यालिलीको खोज र अनुसन्धानले यसलाई ठीक उल्टो प्रमाणित गरिदियो । उनको खोजले सूर्यको वरिपरि पृथ्वी घुम्दछ भन्ने प्रमाणित गरिदियो । अर्को कुरा पनि उत्तिकै पेचिलो थियो, त्यो हो, पृथ्वी चेप्टो छ भन्ने । वैज्ञानिक कोपर्निकसले पृथ्वी चेप्टो नभई गोलो छ भनेर पत्ता लगाए ।

वैज्ञानिक आविष्कारसँगै समय क्रमले सामाजिक सोच र चिन्तनमा पनि परिवर्तन ल्याइदियो । मानव समाजमा कुनै समय राजालाई विष्णुको अवतार, गुरु पुरेतलाई ब्रह्माको अवतार मान्ने आजको जमाना छैन । विभिन्न हजारौं–लाखौं खोजहरुले राजा विष्णु भगवान होइनन्, गुरुपुरेत ब्रह्मा होइनन् भन्ने प्रमाणित गरिदिएको छ । विज्ञानले यसरी प्रमाणित गरिदिएका धेरै कुरा धर्मका नाममा फैलिएका अन्धविश्वास विरुद्धमा छन् । त्यसैले ती वैज्ञानिक छन् । दान गरे धर्म हुन्छ भनेर हजारौं वर्षदेखि भन्न थालियो र कमजोर मानिसलाई धर्मको नाममा अल्झाउँदै ल्याइयो । धर्म धारण गरे मुक्ति पाइन्छ भन्दै दास र नोकरको विभेद मानव जीवनमा भित्र्याइयो ।

कुनै बेला यस्तो पनि समय थियो जतिबेला पूर्वीय सभ्यातामा ऋषिमुनी र पश्चिमी सभ्यतामा पोप तथा पादरीले नै राज्यलाई आफ्नो नियन्त्रणमा लिएर सन्चालन गरिरहेका थिए ।

धर्मका नाममा उनीहरुले विभिन्न भ्रमहरु फैलाई मानिसलाई मनोवैज्ञानिक हिसाबले नियन्त्रणमा राखेका थिए । राजा नभए देश र दुनियाँ चल्दैन र गल्ती गरे भगवान मानिससँग रिसाउँछन् भन्ने धारणाले मानिसको दिमागमा कब्जा जमाएको थियो । तर वैज्ञानिकले ब्रम्हाण्ड ईश्वरले होइन, प्रकृति स्वयम्ले चलाइरहेको र आफ्नै स्वत्व र अस्त्तिवमा ब्रह्माण्ड क्रियाशील रहेको प्रमाणित गरिदिए । यतिसम्म कि हरेक ब्रह्माण्डीय पिण्डभित्र गुरुत्व बल र यसको बाहिरी सतहमा रहेको गुरुत्वाकर्षणले नै यो आफूमा क्रियाशील छ भन्ने सउदाहरण प्रमाणित गरिदिए । यो मानिसको सोचाइमा ल्याइएको दिमागी हलचलले आज देश र दुनियाँलाई भिन्न वा वैज्ञानिक रुपमा हेर्ने र सोच्ने तहमा पुर्याएको छ । यो स्वयम्मा ब्रह्माण्डीय हलचल हो ।

वैज्ञानिकहरुले यस्ता कुरा प्रमाणित गरेर देखाइदिए कि मानिसमा धर्मले सदिऔंदेखि दिलाएका विश्वास धरमराए र गलत प्रमाणित भए । सापेक्ष वैज्ञानिक कुरा धारण गर्न थालिए । तर अन्धविश्वास हट्न थाल्यो । त्यसपछि धर्मका नाममा फैलाइएका झुठा कुरा र ठगीहरु बन्द हुँदै गए । त्यसपछि धेरै देशका जनतामा क्रमशः चेतनाको लहर फैलिन थाल्यो । राजनीतिक तथा सामाजिक व्यवस्थाका हिसाबले राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको उदय हुँदै गयो । राजाले चलाएका राजतन्त्रात्मक शासनका ठाउँमा जनताले चुनेका जनप्रतिनिधिले शासन गर्न थाले । यो अभूतपूर्व चेतना केही न केही फरक वर्गको थियो । राजतन्त्रात्मक शासनप्रति जनतामा वितृष्णा फैलँदै गयो । हुँदैजाँदा जनतालाई त्यसरी शासन गर्ने राजा गलत छन् र ती जमिन र भूगोलसँग जोडिएका ‘भूपति’ नामधारी सामन्ती मात्र हुन् कुरा छर्लंग हुन गयो । फलतः राजतन्त्रात्मक शासन चलाउने राजाहरु उखेलेर फ्याँकिए ।

अपरिवर्तनीय र भगवानको रुप मानेर आएको राजतन्त्रलाई नै उखेलेर जनताले फालेपछि पनि दुनियाँ त्योभन्दा झन् नयाँ र वैज्ञानिक तरिकाले चलेकै छ । त्यसैले त्यसरी अन्धविश्वास र गलत तरिकाले शासन गरेका कारण राजतन्त्र आज विश्वका २८ देशमा मात्रै खुम्चिएको छ । त्यो पनि सकृय र निरंकुश शासकका रुपमा नभई नाम मात्रका राजाका रुपमा । विज्ञानले परिभाषित गरेको नयाँ विश्वको मान्यताका आधारमा चल्ने सर्तहरुमा मात्रै उनीहरुलाई सम्मानित राजाका रुपमा राखिने अवस्थामा पुर्याएको छ । उनीहरुले भगवान मानेर पुजा गर्ने ग्रहहरुमा र तिनका चन्द्रमाहरुमा मानिसले पाइला टेकिसकेको छ ।
नास्तिकतालाई अभिव्यक्त गर्ने नास्तिक शब्द करिब २,५०० वर्षयता प्रयोगमा आएको देखिन्छ । विज्ञानको विकास हुँदै गएपछि त्यो विचारले बिस्तारै स्थान पाउँदै गएको छ । लामो सामाजिक अनुसन्धानपछि डेढसय वर्षअघि जब दार्शनिक कार्ल माक्र्सले धर्मलाई ‘अफिम’को संज्ञा दिए, तब संसारमा तीव्ररुपमा नास्तिकता बढेर गयो । आज करिब ७ अर्ब मानिसमा १ अर्ब ३० करोड (करिब १६ प्रतिशत मानिस) नास्तिकताको पक्षधर छन् । आध्यात्मिकताको कोणबाट सम्बोधन गरिने ‘नास्तिकता’ आस्तिक भन्दा धेरै प्रगतिशील, अग्रगामी, परिवर्तकारी र विवेकशील छ ।

वैज्ञानिक प्रयोगमा आधारित भएकाले तिनको दिमाग तेजिलो हुने, खुशी हुने र सन्तुष्ट रहने प्रमाणित भएको छ । आस्तिक मान्छे सँधै भगवानलाई सम्झिरहन्छ र पुजा पाठ गरिरहन्छ । दिमागमा भगवानले राम्रो गर्लान् कि नराम्रो, साथ देलान् कि नदेलान्, यो काम वा त्यो काममा भाग्य छ कि छैन भनी सोंचिरहन्छ । आस्तिक कुनै घटना घट्यो भने भगवानलाई श्रेय दिने गर्छन् वा कारण ठान्ने गर्छन्, उनीहरु रामभरोसे हुन्छन् ।

तर नास्तिकलाई यस्ता कुरा मतलब हुँदैन । किनकि, नास्तिकलाई भगवानप्रति विश्वास हुँदैन । हालको विश्वमा जति पनि सफल व्यक्ति छन्, तीमध्ये धेरै धर्मको होइन, विज्ञानको पछाडि लागेका छन् । धर्मले सिकाएको अन्धविश्वासले मानवजातिलाई विज्ञान पत्ता लगाउन रोकेको थियो । प्रकृतिमा व्याप्त विज्ञान पत्ता लगाउन मानिसलाई मानिसको उत्सुकता र मेहनतले नै सिकाएको हो र सफल पनि बनाएको हो । कुनै भगवानले सिकाएको होइन । भगवान त मानिसले कुनै चिजलाई मानेको विश्वासको कुरा हो । नेपालमा त यस्ता कुरा बुझ्न र बुझाउने कुरामा धेरै नै कमी रहेको छ ।

जो माक्र्सवादी हुँ भन्छ ऊ नै घरको पुजाकोठा चिटिक्क पार्छ र द्वन्द्वात्मक भौतिकवादको कुरा गर्छ । मैले कयौं विज्ञान र सामाजिक विषय पढाउने शिक्षकले यस्तो गरेको देखेको छु । त्यसैले उनीहरु शिक्षक त हुन्, तर अन्धविश्वासमुक्त भने हुन सकेका छैनन् । मानिसको जीवनमा अझैं पनि द्विविधा व्याप्त छ । यसले कर्म र सोच तथा आनीबानीमा विभ्रम निम्त्याइरहेको छ ।

जस्तो कि विज्ञान शिक्षकले नै धर्मको कुरा गर्नथाल्ने हो भने विद्यार्थीले के सिक्ने ? अनि हाम्रो भविष्य दुविधापूर्ण त हुने नै भयो । अबको समाज कता जाला ?

विज्ञानमा प्रगति गरेका देशमा नास्तिक धेरै छन् । विज्ञानको आधारमा आफ्नो देशलाई विकास र प्रगतितिर हाँकिरहेका छन् । तर जो पिछडिएका छन् उनीहरु भने धर्मका नाममा अझै लडिराखेका छन् । तल लेखिएका विकसित देशमा नास्तिकताको प्रतिशत हेर्नुस् । अब आफै सोच्नुस् कि दुनियाँ कसको हातमा छ ? आस्तिकको या नास्तिकको ?
विश्वमा कुन देशमा कति प्रतिशत मानिस नास्तिक छन् ?

नर्वे ५२ प्रतिशत, फ्रान्स ५४ प्रतिशत, हङकङ ५७ प्रतिशत, मकाउ ६२ प्रतिशत, भियतनाम ६३ प्रतिशत, स्विडेन ६४ प्रतिशत, डेनमार्क ७२ प्रतिशत, जापान ७६ प्रतिशत, चेक गणतन्त्र ७६ प्रतिशत र एस्टोनिया ७७ प्रतिशत ।
प्रतिशतका हिसाबले कम भएपनि रुसमा ५.५ करोड, अमेरिकामा ६.२१ करोड र चीनमा २८ करोड व्यक्ति नास्तिक छन् । अब आफैं सोच्नुस् नास्तिक अगाडि हुन्छ कि आस्तिक ?

हाम्रो नेपालमा भने हामीलाई पछाडि पार्न विभिन्न धर्मको प्रचार गरिन्छ । विशेष गरी क्रिश्चियनले विश्वव्यापी रुपमै यो अभियान चलाएका छन् । हामी नेपालीले त्यस्तो भ्रममा नफसेर सत्य (विज्ञान) लाई अङ्गाल्नु पर्छ, अन्धविश्वासलाई होइन । त्यसैले हामीले अब विज्ञान र प्रविधिमा विश्वास गरौं, कुनै अलौकिक शक्तिको बारेमा वर्णन गर्नेमा होइन । मानवजातिले प्राप्त गरेको यो प्रकृतिलाई विश्वका उत्पीडित समुदायको हितमा उपयोग गरौं किनभने विज्ञान नै सत्य र तथ्य हो