काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कन्चन’लाई प्रहरीले फेरी पक्राउ गरेको छ ।
बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले बिहीबार बाँस्तोलालाई छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै छुटेका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी रमेश बस्नेतले बाँस्तोलाको अन्य मुद्दासमेत बाँकी रहेकाले उनलाई पुनः पक्राउ गरिएको जानकारी दिए । उनलाई महानगरीय प्रहरीबृत्त कमलपोखरीमा राखिएको उनले बताएका हुन् ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले अदालतका रजिष्ट्रार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा उनलाई छाड्न आदेश दिएको थियो । प्रहरीले २९ पुसमा बाँस्तोलासहित चार जनालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले म्याद थप गरी अनुसन्धान गरेको थियो ।