काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको बृहत् सभाको चर्चा यतिबेला ब्यापक छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि गर्न लागिएको आमसभा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिका कारण पनि विशेष रूपले चर्चित बन्न पुगेको हो । प्रधानमन्त्री ओलीले हालै दाहाल–नेपाल समूहले आयोजना गरेको आमसभाबारे टिप्पणी गर्ने क्रममा ‘जनसभा भनेको कस्तो हुन्छ त्यो माघ २३ गते हेर्नु’ भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार २३ माघ शुक्रबारको सभामा काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
शुक्रबार मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने बताइएको छ । सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।
जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरू पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौंमा १० हजार मोटरसाइकलको र्याली गरेको थियो ।