काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनःनिर्माण र फराकिलो बनाउन भन्दै राधे–राधेको सत्संग मन्दिर भवन भत्काएपछि विरोध भएको छ । आफूहरुलाई पूर्व जानकारी नदिएको र यसअघि भएको समझादारी विपरित नै भवन भत्काएको भन्दै राधे–राधे सत्संगका एक अनुवाई अनसन बसेका छन् ।
कमलपोखरी स्पोर्टस् क्लबका पदाधिकारीसहित मन्दिरको रेखदेखमा रहेकाहरुलाई बिना जानकारी भवन भत्काएको भन्दै अर्जुन बस्नेत आमरण अनसन बसेका हुन् । राधा माधव प्रचार समितिका कार्यवाहक अध्यक्ष कमल प्रसाद मिश्रले महानगरको आक्रमण भनेको बैदिक सनातन धर्ममाथिको बर्बर आक्रमण भएको बताए । उनले उक्त भवन वडाकार्यालयको निर्देशनमा नक्सा पास गरेरै निर्माण गरिएको, काठमाडौंका मेयरले यसअघि ज्ञापनपत्र पनि बुझाइसकेको भएपनि अत्याचारपूर्ण तवरले भत्काइएको गुनासो गरे ।
भवन भत्काउँदा जगतगुरुको आसन, शिव भगवान, सिता तथा अन्य भगवानहरुको तस्विर, सुनचाँदी, फर्निचरलगायत अन्य भौतिक सामाग्रीको महानगरले ध्वस्त पारिदिएको मिश्रले जानकारी दिए । कमलपोखरी हाल पुनःनिर्माणको चरणमा छ । पुनःनिर्माणका क्रममा सिमेन्टको प्रयोग गरी कंक्रिट स्वरुप दिने शिलशिलामा पोखरीको पानी सुकाइएको छ । पानी सुकेपछि पोखरी चिरा परेको छ । सोही विषयमा महानगर र स्थानीयबीच विवाद रहँदै आएको छ ।