वाग्मती, २२ माघ हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् ।
पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा नपसी फर्कने कमै हुन्छन् । दशै, तिहार र छठपछि त यस उद्यानमा भारतीय र आन्तरिक पर्यटकको भीड लाग्ने स्मारक व्यवस्थापक आरसी न्यौपाने बताए ।
उनका अनुसार वनभोज, विवाह, व्रतबन्ध, गोष्ठी, अधिवेशन जस्ता कार्यक्रमले स्मारकलाई व्यस्त राख्ने गर्छ । अध्ययन भ्रमण तथा घुमघामका लागि पनि यो स्मारक एक आकर्षण बनेको छ । त्यसैले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । यहाँ वार्षिक पाँचदेखि छ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन् ।
पर्यटकीय याममा भने यहाँ दैनिक पाँचदेखि सात हजार मानिस आउने गर्छन् । शहीदहरुको स्मृतिमा देशभर निर्माण भएका स्थलमध्ये सबैभन्दा ठूलोस्थलको रुपमा रहेको शहीद स्मारक देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।
निजी क्षेत्रबाट निर्माण भएर पनि देशमै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दै गएको शहीद स्मारक उद्यान, हेटौँडामा अहिले दैनिक औसत दुई हजार भन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्मारक कार्यालयले जनाएको छ ।
पर्यटकलाई आकर्षित गर्न उद्यान क्षेत्रमा बालउद्यान, चिडियाखाना, पौडीपोखरी, विश्रामस्थल, वनभोजस्थल, मदन स्मारक, पर्यटक सूचना केन्द्र, थाहा स्तम्भ, आकर्षक प्रवेशद्वार, झोलुङ्गे पुल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, बगैचा, धरहरा पार्क, मैत्रीपार्कलगायतका संरचना बनाइएको छ ।
उद्यानका प्रमुख संरचना २० हेक्टर क्षेत्रफलमा रहेको भए पनि यसका कयौं गुणा वनक्षेत्रलाई आकर्षक बोटबिरुवा तथा फलफूलहरुले आकर्षक रुपमा सिगारिएको स्मारक व्यवस्थापक आरसी न्यौपाने बताए ।
यस उद्यानको उत्तर–पश्चिमपट्टी धार्मिकरुपमा पवित्रस्थल गुफा तथा मठमन्दिर छन् । तराईको समथर भूभागदेखि उच्च पहाडी क्षेत्रमा पाइने वनस्पतिहरु पाइने यहाँको वनलाई श्रद्धालुहरु अलौकिक मान्ने गर्दछन् ।
स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो रहने शहीद स्मारक उद्यानको २६ वर्ष अघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल हेटौँडा नगरपालिकाको नगर प्रमुख रहँदा उनकै पहलमा शहीद स्मारक पार्क निर्माण भएको हो ।
हेटौँडा– ११ सरस्वतीस्थित सरस्वती खोलाबाट ल्याइएको ढुङ्गामा कुँदिएको १२ शहीदको मुखाकृति र ज्ञातअज्ञात शहीदहरुलाई सम्झने गरी कुदिएको एक महिला र एक पुरुषको मुखाकृति भएको २५ हजार केजीको विशाल शालिक नै मुख्य स्मारक भए पनि हाल भूतपूर्व सैनिक सङ्घको सहयोगमा निर्माण भएको र देशको प्रजातान्त्रिक आन्दोलका योद्धा बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्ण कदको सालिकसहितको प्रजातान्त्रिक पार्क, चितुवा, हरिण, चित्तल, गोही, मृग, विभिन्न प्रजातीका चराचुरुङ्गीसहितको चिडियाखाना, रमाइलो मेलासहितको बाल उद्यान, जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको दु:खद जीप दुर्घटनास्थलको घटनाक्रम देखिने नमूना घटनास्थलसहितको मदन भण्डारी स्मृति पार्क, झोलुङ्गे पुल, पौडी पोखरी, शहीद अध्ययन केन्द्र, नेपालको विशाल मानचित्रसहितको ६५ मिटर अग्लो शहीद स्मृतिस्तम्भ यहाँका मुख्य आकर्षण हुन् ।
शहीदको सम्मानमा स्मारक निर्माण गरिएको स्मारकका परिकल्पनाकार तथा हाल वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ, “शहीद हाम्रा पथ प्रदर्शक हुन हामी जुन धरातलमा छौँ, त्यो शहीदहरुको त्यागका कारण प्राप्त उपलब्धिका कारण हो, त्यसैले राष्ट्रका लागि अतुलनीय योगदान दिने शहीदहरुको योगदानको सम्मानका लागि यो स्मारक निर्माण भएको हो” स्मारक व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पौडेलले भने ।
यहाँ भक्ति थापादेखि २०४६ साल सम्मका शहीदलाई समेट्ने गरी एउटै ढुङ्गामा १२ जना शहीद र ज्ञातअज्ञात शहीदको प्रतिनिधिका रुपमा एक पुरुष र एक महिलाको अमुक आकृति समावेश गरिएको छ ।
मुख्यमन्त्री पौडेलले नेपालको इतिहासमा अनुपम नमूना र सम्पूर्ण शहीदलाई एउटै थलोमा स्मरण गर्न सकिने शहीद स्मृतिस्थललाई पूर्णता दिन १९ मिटर डाईको गोलाइमा ६५ फिट अग्लो स्तम्भ चारैतिर कमलको फूलको आकार देखिने भित्रिभागमा विभिन्न कालखण्ड झल्कने अमुक आकृति चार फोहरा, आकर्षक बगैँचा, अग्रभागमा नेपालको प्राकृतिक नक्शा जसमा मुख्य नदी हिमशृङ्खलादेखि बगिरहेको देख्न सकिने बताए । “जनस्तरबाट निर्माण गरिएको यो त्यही स्मारक हो जहाँ जननेता मदन भण्डारीको स्मृतिमा उनको मृत्यु भएको स्थान दास ढुङ्गाको दृश्य प्रतिविम्बित हुने गरी नेपालकै पहिलो पूर्णकदको मदनप्रतिमा र आकर्षक मदन बाटिका रहेको छ” उनले भने ।
मुख्यमन्त्री पौडेलले स्मारकले यस भेगको आर्थिक सामाजिक जीवनमा बहुआयामिक प्रभाव पारेको बताउनुभयो । “यस क्षेत्र अरु क्षेत्रका लागि समेत अनुकरणीय हुनसक्छ । यस उद्यानबाट प्रभावित भएर अहिले पनि देशका कयौं स्थानमा उद्यान निर्माण हुने गरेका छन् ।
यसले सयौं स्थानीयवासीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने त्यसभन्दा बढी अप्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । जसबाट हजारौं परिवार लाभान्वित भएका छन् । यस भेगको विकासले गति लिएको छ । समग्र मकवानपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्मारकले नेतृत्वदायी भूमिका खेलेको छ भने यसबाट हेटौंँडाको आर्थिक क्रियाकलापमा समेत वृद्धि भएको छ” उनले भने ।
कोही भोकै मर्नु नपर्ने र जसको कोही छैन उसका लागि सरकार छ भन्ने सुनिश्चितताले नै शहीदप्रति सच्चा सम्मान पुग्ने र ती कार्यभारलाई पूरा गर्न सक्दामात्र शहीदहरुप्रति सच्चा सम्मान हुने उनको भनाइ छ । “आजको यो परिवर्तन तिनै महान शहीदहरुको बलिदानीपूर्र्ण सङ्घर्षबाट सम्भव भएको हो ।
यो शहीद स्मारक उद्यान तिनै शहीदहरुको गौरवशाली गाथालाई जीवन्त बनाई आजको युवा पुस्तामा शहीदप्रति आस्था जगाउने र श्रद्धा एवं भक्ति अर्पण गर्ने पवित्र स्थल हो” उनले भने ।
पौडेल भन्नुहुन्छ, “इतिहासलाई बिर्सिएर भविष्यको नक्शा कोर्न सकिदैन, नत वर्तमानलाई नै सुदृढ गर्न सकिन्छ । यसर्थ यस पार्कले नयाँ पुस्तामा राष्ट्रप्रेम र समर्पणको भावना जागृत गराउनुका साथै देशको इतिहास र शहीदहरुको बारेमा अध्ययन गर्ने र बुझ्ने अवसर समेत दिएको छ ।’’स्मारक व्यवस्थापन समितिका अनुसार यस उद्यानले ५० जनालाई प्रत्यक्ष र दुईसय भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छ ।
स्मारकमा आवागमन बढ्न थालेपछि यहाँ स्तरीय होटल खुल्न थालेका छन् । सडकलगायत विकासका पूर्वाधार निर्माणले प्राथमिकता पाउँदा यस भेगको विकासले पनि गति लिएको स्थानीय बालकृष्ण दाहाल बताए।
मकवानपुर पर्यटकीय सम्भावना रहेको जिल्ला हो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल । उनका अनुसार यस उद्यानले समग्र मकवानपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नेतृत्वदायी भूमिका खेलेको छ ।
यसले वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौंँडाको आर्थिक क्रियाकलापमा समेत वृद्धि भएको छ । शहीद स्मारक उद्यानले हेटौँडा तथा समग्र जिल्लाको आर्थिक सामाजिक जीवनमा बहुआयामिक प्रभाव पारेको स्थानीयवासी बताउँछन् ।