• मंसिर ११ २०८१, मंगलवार

सत्ता प्राप्तिका लागि जनतालाई कहिलेसम्म हतियार बनाउँछौ ?

माघ २० २०७७, मंगलवार

नेपाल विश्वभर शान्तिको सन्देश दिने महान् गुरु गौतम बुद्ध जन्मनु भएको देश हो । सबैभन्दा अग्लो टाकुरो सगरमाथा पनि यही देशमा छ । तर विश्वले चिन्ने यति धेरै चिजहरु भएर पनि नेपालमा गरिबी, अशिक्षा र बेरोजगारी व्याप्त छ । फाइदा उठाउँदै राजनीतिक व्यापारीहरुले देशलाई लुट्नसम्म लुटेका छन् । नागरिक सचेत र एकजुट नहुँदाको परिणाम अहिले नेपालमा सर्वत्र भइरहेको हो । यस विषयमा आमनेपाली नागरिक अझै पनि राजनीतिक रुपमा सचेत नहुने हो भने परिणाम अझै गम्भीर हुँदै जानेछ । सहि दिशा र सहि समयको ज्ञान भएन भने उदाउँदै गरेको सूर्य पनि डुब्दै गरेको देखिन्छ । हाँसीखुसी जीन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ । तर अहिले नेपालमा दुई चारजना नेताको कुर्सीको लागि आफ्नो ज्यान दिने नेपाली जनता नै भेडा हुन् त ? जनताको न्यायका लागि कुनै नेता यसरी सडकमा आएको इतिहास छ ?

नेपाली राजनीतिज्ञ अहिलेको जीवनकालमा देखिएका सबैभन्दा खराब राजनीतिज्ञ हुन् । उनीहरू कहिल्यै पनि जनतालाई काम गर्न उत्साहित गर्दैनन् । उनीहरू मानिसलाई हिंस्रक अपराधको लागि प्रोत्साहित गर्छन् । के यसैका लागि नेपालमा गणतन्त्र र संविधान बनेको थियो ? धेरैले जसोले जनतालाई भेडा भनेका छन् जनतालाई भेडा भन्नु भनेको आफूलाई नै भेडा भन्नु हो । सत्तामा पुगेपछि जनताको समस्या भुल्नु नै नेताले जनताप्रति गरेको अत्याचार हो ।

रोजगारीको सिलसिलामा आफ्नो परिवारलाई खुशी र सुखका साथ पाल्ने ठुलो आशा बोकेर विदेशीएका १७ नेपाली दाजुभाइहरुको शव मलेशियाबाट काठको बाकसमा बन्द भएर फर्केको छ । हजारौं नेपाली बहादुर युवा विदेशमा रोजगारीको लागि खुन पसिना बगाई ज्यान गुमाउनु परेको छ । यता नेपालमा राजनीतिक खिचातानी र भ्रष्ट नेताहरुको कारण आज नेपाली दाजूभाई दिदी–बहिनीले यो दुर्दशा भोग्न बाध्य हुनुपरेको छ ।

नेताको लागि आन्दोलन गर्ने सभा गर्ने अन्तिममा ज्यान पनि दिने तर सुख शान्ति र समृद्धि र रोजगार कहिल्यै न दिने । यिनै नेताको कारण दलित सर्वहारा वर्गले नेताको चाकरी गर्दै आन्दोलन गर्दै ज्यान जान्छ । सबै युवाहरुलाई हतियार बनाइएर लडाइँ लड्दैछन् ।

थाह छैन जिन्दगीले कतातिर मोड लिन्छ किन र कैलेसम्म हामी नेपाली नागरिकले दुःख झेल्नु पर्ने हो । पराइ भूमिमा आफ्नो परिवार पाल्नका लागि दिन रात मेहनत गरिरहेका छन् । अनि नेपाल गएर महँगो कर पनि तिर्दै छन् । आखिर जब देशको स्वाभिमान, स्वाधीन र सुरक्षाको लागि नेपाली बहादुर कहिलै पछि हट्दैन ।

हजारौं नेपाली नागरिक रेमिट्यान्स भित्र्याउन सहयोगका लागि मात्रै परदेश छिरेका होइनन् । स्वदेशमा रोजगारीले भौंतारिन बाध्य भएर गहभरि आँसुका ढिक्का पारी हात हल्लाएर हिँड्न अन्तिम विकल्प रोजेका हुन् । परदेश लाग्दा हजारौं आकाङ्क्षा पोको पारेर पुग्छन् । कामको सिलसिला कस्तो छ यहाँबाट पठाउने व्यक्ति कहिल्यै सोधिखोजी गर्दैनन् । सरकार कुनै माध्यमबाट बुझ्न प्रयत्न गर्छ, उनीहरूको कामको सिलसिला वा अन्य कारण मृत्यु भैसक्छ । तपाईंको हो भन्ने थाह पाउनलाई पहिला तपाईको होइन भनेर थाह पाउन जरुरी हुन्छ । अब नेपाल बहादुर युवाहरूले जीवन बचाउनका लागि मात्र दौडिने हैन देश बचाउनका लागि पनि दौडिनु पर्छ ।

एक मिनेटमा देश बदल्न सकिँदैन । तर हामीले गम्भीर भएर सोचेको एक मिनेटको निर्णयले भने देश बदल्न सक्छ । तसर्थ, हामी तीन करोड नेपाली मिलेर मात्रै यो देश बनाउने हो अब देश कसैको भरोसामा बन्दैन । एकजना व्यक्तिको प्रयासले समाज बदलिन सक्दैन, तर प्रयास जारी राख्नु पर्छ किनकि पानीमा हलचल मच्चाउनका लागि एउटा डुङ्गा काफी हुन्छ । नेपाली जनता र बहादुर युवामाथि झोले नेता र पार्टीले नेपाललाई समाप्त पार्ने खालको खेल खेल्नु हुँदैन । सुख शान्ति समृद्धि र विकास भन्दै लाखौं युवाहरुलाई विदेशतिर कहिलेसम्म आफ्नो पसिना बगाउनु पर्ने हो यसको हिसाबकिताब कसले गर्ने ।

जव परिवर्तनकारी विचारधारा स्वीकार गरिनेछ, तब मात्र नेपाली समाजको विकास सम्भव छ । अब कसैको नाटक र नौटंकी यो देशमा धेरै समय चल्नेवाला छैन । नेपालका सबै युवावर्गले कुनै जाति, धर्म र भेषभुषासँग सम्बन्ध नराखेर नैतिकताको आधारमा समानताका साथ एकजुट भएर आफ्नो बहादुरी, कला, सीप र मेहनत आफ्नै मातृभूमिमै श्रृजना गर्ने हो भने नेपाल देश विश्वको शक्तिशाली देश बन्न कसैले रोक्न सक्दैन । जब देशको हार हुन्छ, तब हाम्रो जित हुँदैन जब देशको जित हुन्छ, तब हाम्रो हार हुँदैन । त्यसैले सबै पक्ष मिलेर अगाडि बढ्नु पर्छ ।