विभिन्न राजनैतिक पार्टीका नेता तथा विश्लेषकहरुले नेपालमा विद्यमान संसदीय व्यवस्था खराब भएको कारण अहिलेको राजनैतिक संकट आएको धारणा व्यक्त गरेका छन् । क्रान्तिकारी पत्रकार संगठनद्धारा काठमाडौंमा आयोजित वर्तमान ‘राजनीतिक संकटः व्यवस्था की शासक’ विषयक अन्तरकृया कार्यक्रममा उनीहरुले त्यस्तो धारणा व्यक्त गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष सी.पी.गजुरेलले अहिलेको राजनैतिक संकटको भागिदार केपी ओली मात्रै नभई सत्ताधारी नेकपाकै असफलता साथै यो संसदीय व्यवस्थाकै असफलता भएको धारणा व्यक्त गरे ।
आफ्नै पार्टीको आन्तरिक किचलो समाधान गर्न नसक्ने, सत्ताको भागबण्डा मिलाउन नसकेर केपी ओली र प्रचण्ड-माधव समूहले काठमाडौँ र देशका अरु शहरहरुमा कार्यकर्ता प्रदर्शनको प्रतियोगिता गरेर नाटक गरेको आरोप गजुरेलको आरोप छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले सत्ता सञ्चालन गर्ने व्यक्तिमा रहेको खराबीका कारण सिंगो व्यवस्थामा समस्या आउने भएको हुँदा अहिले पनि ओलीमा रहेको खराबीकै कारण नेपालको संसदीय व्यवस्थामा प्रश्नचिन्ह उठेको धारणा व्यक्त गरे ।
अहिलेको संविधानले समाजवादमा जान कसैलाई नरोक्ने बताउँदै नेपाली माटो सुहाउँदो समाजवाद कुन हो भनेर पहिचान गर्नुपर्ने पाण्डेको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका युवानेता रामहरी खतिवडाले संसदीय व्यवस्थाको बचाउ गर्दै प्रधानमन्त्री ओली नै खराब भएकोले संसद भंग गरेको धारणा व्यक्त गरे । शासकहरुको गलत कामले गर्दा राजतन्त्र र पञ्चायतले व्यवस्थाबाट हात धुनु परेको प्रसंग कोट्याउँदै उनले ढिलो चाँडो ओलीले पनि त्यस्तै हविगत भोग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय अध्यक्ष ऋषिराम कट्टेलले अहिलेको नेपालको व्यवस्था पुँजिवादी र समाजवादी दुवै नभएको भन्दै यो व्यवस्थालाई उनले वर्णशंकर व्यवस्था भएको बताए । यो व्यवस्था नै खराब भएको र यसका सञ्चालक केपी ओली पनि बदमास भएको आरोप कट्टेलले लगाए । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले अहिलेको संसद विघटन हुनु भनेको संसदीय व्यवस्थाको राजनैतिक संकट भएको बताउँदै संसदीय व्यवस्थाले कुनैपनि देशको अन्तरविरोध हाल गर्न नसक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय अध्यक्ष कर्णजित बुढाथोकीले संसद पुनःस्थापना जनताको माग नभएको बताए । समाजवादको मोडेलमाथि छलफल गर्ने समयमा केपी ओली र प्रचण्ड आपसमा झगडा गरेर तमासा गरेको भन्दै राजनैतिक जनपरामर्श सम्मेलन गरेर अहिलेको राजनैतिक संकटको निकास खोज्नुपर्ने उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा विचलन आएकोले यिनीहरुले बनाएको संविधानमा धेरै खराबी भएको बताए ।
पुरानो परम्परावादी यो वा त्यो यान्त्रिक व्यवस्था भन्दापनि सामाजिक न्याय सहितको समतामुखी राजनैतिक व्यवस्था र समाज नै अहिलेको आवश्यकता भएको प्राध्यापक केसीको धारणा छ । कार्यक्रममा विश्लेषक तथा वरिष्ठ पत्रकार कुमार शाहले नेपालमा विभिन्न कालखण्डमा आन्दोलन विरोधीहरु सत्तामा पुग्ने र परिवर्तित व्यवस्थाको स्वामित्व लिन तयार नहुँदा व्यवस्थामा संकट आइरहने धारणा व्यक्त गरे । उनले अब नेपालका सबै नेताहरुले यसबारेमा नयाँ तरिकाले सोच्नु पर्ने सुझाव दिए ।
कार्यक्रम संगठनका उपाध्यक्ष जन्मदेव जैसीको अध्यक्षता र महासचिव बाबुराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो भने संगठनका केन्द्रिय सदस्य कमल बुढाले सहभागिहरुप्रति धन्यवाद दिएका थिए ।