• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओलीले अत्याचार गर्न थाले :  प्रचण्ड

माघ १६ २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका छन् ।  

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो आरोप लगाउदै प्रधानमन्त्री ओलीको ‘अत्याचार र निरंकुशता’ अब नटिक्ने बताएका हुन् ।

उनले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि ओलीले अपमानित र हुर्मत लिने काम गरेको आरोप लगाए ।

दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्‍यो भनेर अपमानित गरेको पनि बताए । आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको  दाहालले गुनासो गरेका छन् ।

‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?,’अध्यक्ष दाहालले प्रश्न गरे ।

उनले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए ।