• मंसिर १२ २०८१, बुधबार

ओलीले संसद् विघटन गरेका होइनन्, संविधान विघटन गरेर लोकतन्त्रमाथि हमला गरेका हुन् : दाहाल

माघ १६ २०७७, शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विघटन गरेर लोकतन्त्रमाथि हमला गरेको बताएका छन् ।शुक्रवार नेकपा प्रचण्ड–माधव समूहको विराटनगरमा  प्रतिनिधि सभा विघटनको  विरोधसभामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि हमला गरेको बताए । उनले भने ‘ओलीले संसद् विघटन गरेका होइनन्, संविधान विघटन गरेर लोकतन्त्रमाथि हमला गरेका हुन्, नेपाली जनतामाथि ठाडो हमला भएको हो ।’

वाम गठबन्धन र पार्टी एकतापछि मजदुर किसानका लागि काम गर्ने भनेको र आफूले पनि यही सपना देखेको दाहालले बताए । संविधानको चर्चा गर्दै उनले भने, ‘यो देशमा विभेदमा परेका सबैलाई आत्मसम्मान दिने भन्यौ, हजारौं सहिदको बलिदानबाट यो संविधान बनेको हो । अहिलेको संविधान पहिलेभन्दा निकै अर्थमा फरक छ ।’

प्रधानमन्त्री ओलीप्रति कडा टिप्पणी गरिरहेका दाहालले आज पनि त्यही सहिदले ल्याएको परिवर्तनमा प्रतिबद्ध रहेको भन्दै देश बनाएर मर्न चाहेको पनि बताए । उनले भने, ‘केपी ओली बेइमान रहेछन् । सामान्तीका अगाडि लागेर र दलाल पुँजीपतिसँग ओली मिल्न पुगे ।’

सो कार्यक्रममा अध्यक्ष दाहाल केहीबेर भावुक बनेका थिए । आफ्ना दिवंगत छोरा प्रकाशलाई सम्झिँदै भने, ‘अब मेरा लागि नेपालका सबै युवायुवती प्रकाश हुन् ।’