• मंसिर ११ २०८१, मंगलवार

अमेरिकी संसदमा जारी ‘श्वेत आतंक’ !

माघ १६ २०७७, शुक्रबार

काठमाडौं । बिद्रोहीले आफ्नो प्रभाव, बल र शक्ति देखाउन प्रयोग गर्ने हिंसात्मक कला वा गतिविधिलाई ‘लालआतंक’ र सरकार पक्षले देखाउने हिंसात्मक बल र प्रभावलाई ‘श्वेत आतंक’ भनिन्छ । तर अमेरिकीहरुले तात्कालीन राष्ट्रपति ट्रम्प र उनको रिपब्लिकन पार्टीको हारसँगै संसद भवन ‘क्यापिटल हिल’माथि गरेको आक्रमणलाई ‘श्वेत आतंक’को संज्ञा दिए ।

हाल प्रतिपक्षमा रहेका रिपब्लिकन सांसदहरुले हतियारलिएर संसद भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले संसदमा हतियार लिएर पस्न पाउनु पर्ने माग दोहर्याइरहेका छन् । कतिपय रिपब्लिकन संसदहरु त संसदभित्र छिर्दा प्रयोग गरिनु पर्ने ‘मेटल डिटेक्टर’ छलेर संसद भवनभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीको फन्दामा परेका छन् । त्यसो गर्ने सांसदहरुको शरीर तलासी लिंदा छोटा हतियार फेला परेका छन् ।

निवर्तमान राष्ट्रपति ट्रम्पले आफूले सुरु गरेको ‘अमेरिकन फस्ट’ को अभियान बल्ल सुरु भएको बताउँदै गर्दा उनका पार्टीका सांसदबाट गरिएका यी क्रियाकलाप आफैमा गम्भीर र शंकास्पद रहेका छन् । अमेरिकी समाज विभाजित गरेर अघि बढ्ने ट्रम्पको योजनालाई असफल बनाउन अमेरिकी जनताले जित हासिल गरे पनि पराजित प्रवृत्ति ‘श्वेत आतंक’का रुपमा आउन थालेको हो कि भन्ने आशंका अमेरिकी जनताको मनमा उठ्न थालेको देखिन्छ ।

यसै विषयलाई मध्यनजर गर्दै अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पिलोसीले अमेरिकी सदनको सुरक्षाको लागि सुरक्षा खर्चमा बढोत्तरी गरिनु पर्ने बताएकी छिन् । यसका साथै सिंगो अमेरिकी सुरक्षा व्यवस्था नयाँ किसिमले सोचिनु पर्ने कुरामा पनि जोड दिएकी छिन् ।