• मंसिर ११ २०८१, मंगलवार

वास्तविक शहीद दिवसको सम्झना

माघ १६ २०७७, शुक्रबार

प्रत्येक वर्ष यसै समयमा शहीद दिवस मनाइन्छ । विसं १९९७ माघको यही साता देशका चारजना सपूतलाई प्रजातन्त्र मागेको आरोपमा तत्कालीन राणाले काठमाडौंका विभित्र स्थानमा गोली हानेर तथा झुण्ड्याएर हत्या गरेका थिए ।

त्यसको १० वर्षमा राणाहरूको शासन ढल्यो र सँगसँगै सामन्तवाद पनि ओरालो लाग्यो । नेपालको सन्दर्भमा आन्दोलन र संघर्षको अर्थात् बलिदानको इतिहास कायम भइसकेको हो कि अझै पनि यस्ता आन्दोलन र बलिदानको आवश्यकता छ ? भत्रे कुरा भने अनिश्चित रहेको छ । तर, नेपाली जनताले संस्थागत रूपले लोकतन्त्रको पूर्ण प्राप्ति गर्न धेरै वर्ष कुर्नुपर्यो ।

समयअनुसार लोकतन्त्र या प्रजातन्त्रको परिभाषा पनि बदलिने रहेछ भत्रे कुराका लागि नेपाल गतिलो उदाहरण हो । कम्युनिस्ट र गणतन्त्रवादीले २००७ सालमा नै राजतन्त्रको अन्त्यको कुरा गरेका भए पनि त्यतिवेलाको आन्दोलनको मुख्य शक्ति नेपाली कांग्रेस र सम्भवतः त्यतिवेलाका अर्थसामाजिक आधारसमेत गणतन्त्रका पक्षमा थिएनन् ।

वैधानिक राजतन्त्र सहितको वेस्टमिनिस्टर प्रणालीलाई नै त्यतिबेला प्रजातन्त्र मानिएको थियो ।

तर, २०१७ सालमा राजा महेन्द्रले कु गरेर शक्ति हत्याएपछि देशमा गणतन्त्रवादी विचारमा तीव्र विस्तार भएको पाइन्छ । अर्थात् अब वैधानिक राजतन्त्रवादीसँगै गणतन्त्रवादीको आवाज पनि शक्तिशाली भएर आयो, जसका लागि अनेक आन्दोलन र बलिदान भए ।

यसैगरी, २०४७ सम्म पनि वैधानिक राजतन्त्र र संसदीय प्रणाली बोक्ने विचारको प्रभुत्व स्थापित थियो, जसले गर्दा २०४७ को संविधान निर्माण गर्दा राजासँग शक्ति बाँडफाँड गर्न दल सहमत भए । तर, २०५२ मा थालिएको माओवादी सशस्त्र विद्रोहले समाजको सामन्ती अवशेषलाई जरैदेखि हल्लाइदियो ।

परिणामतः २०६२ सम्म आइपुग्दा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदीय शक्ति पनि गणतन्त्रको पक्षमा उभिए । यसरी नेपालले अनेक चरणमा लोकतान्त्रिक आन्दोलन गर्यो र यसक्रममा हजारौँले बलिदान दिए । २०६२-०६३ को आन्दोलनको परिणामले पनि अझै समाजका भित्री तहमा रहेका सीमान्तकृतका आवाज नसुनेको अनुभव गरेका मधेसवादीले अर्को चरणको आन्दोलन गरे, जसमा दर्जनाँैको ज्यान गयो ।

अर्थात् शहीदहरूको चाङ लगाएर अहिलेको गणतन्त्र प्राप्त भएको हो ।

अझै पनि देशमा सीमान्तकृतको आवाज सुनिन बाँकी छ । वर्गीय शोषणबाट पार पाउन बाँकी छ, जसका लागि अर्को आन्दोलनको आवश्यकता त होइन बाध्यता पर्न सक्छ । कमसेकम अहिले शहीद दिवस मनाइरहँदा राजनीतिक दलहरूले शहीदको बलिदानलाई बुझेर गरेको खण्डमा मात्रै हामीले शहीदहरूप्रति गरेको सच्चा सम्मान गरेको ठहर्नेछ ।

मुलुकमा आर्थिक विषमताले बर्वादिएको, अन्ध र असामयिक परम्पराले झुरिएको समाजमा शहीद र निष्ठावान कार्यकर्ताहरुको महत्व लुकाइन्छ, शोषित र पीडित जनता पाखा लगाइन्छन्, निम्न वर्गहरु उपेक्षितको उपेक्षितै राखिन्छन् । यस्तो स्थिति अन्तर्गत बहुजन हिताय-सुखायको समाज, अखण्डित, सग्लो देश, सबल, सुदृढ र सुरक्षित राष्ट्र, एवं शहीदी आकांक्षा अनुरुपको प्रजातन्त्रको निर्माण गर्नुपरेको छ । तर, जे भए पनि आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिने सम्पूर्ण ज्ञात-अज्ञात व्यक्तिहरुको सपना साकार पार्ने सार्थक प्रयत्नसहितको मार्ग अवलम्वन गर्न सकिएन भने ती महान सपूतहरुको श्रद्धा हुनुको सट्टा घोर अपमान हुनेछ ।

शहीद दिवसको यसक्षणमा नेपाली मात्रले श्रद्धा र अपमानको गाम्भीर्यलाई बुझ्न मात्र सकेमा अमरआत्माले शान्ति प्राप्त गर्नेछ । नेपाली जनताले गरेका अनेक आन्दोलन र संघर्षको लामो शृंखलाले मात्रै यस्तो गणतन्त्रात्मक व्यवस्था प्राप्त भएको हो । यस्ता आन्दोलन र संघर्षका क्रममा नेपाली जनताका वीर, वीरांगना सन्तानले बलिदानको लामो परम्परा कायम गरेका छन्, जसको आरम्भ तिनै चारजना शहीदः गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले गरेका थिए ।

यसरी एउटा देशले एउटा व्यवस्था (तत्कालीन अवस्थामा सामन्ती शासन व्यवस्था) बाट अर्को व्यवस्थामा (हाम्रो सन्दर्भमा पुँजीवादी व्यवस्थामा) फड्को मार्न भएका आन्दोलन हिंसात्मक दमन र प्रतिरोधका बाटोबाट गुज्रने परम्परा नै छ । अर्थात् सहिदहरूले बलिदान नदिई व्यवस्था परिवर्तन हुन सक्दैन भत्रे सत्यलाई नेपालको जनक्रान्तिको इतिहासले पनि पुष्टि गरेको छ ।

यस सन्दर्भमा ती चारजनालगायत सबै ज्ञात-अज्ञात सहिदमा हाम्रो श्रद्धाञ्जली ।

समग्रमा भन्नुपर्दा शहीद मरेको छैन, ऊ सम्पूर्ण नेपालीको मुटुको ढुकढुकीसँगै बाँचेको छ । कवि बासु शशीको भनाइमा शहीद भौतिकरुपमा मरेपछि ऊ, नेपाली आत्माभित्र नै रकेको हुन्छ । शहीदहरुले आफ्नो जीवन प्रजातन्त्र प्राप्त गर्न मात्र नगुमाएर प्रजातान्त्रिक मार्गदर्शन मात्र पहिल्याइदिएका हुन शहीदहरु पूजनीय एवं सबैका साझा सम्पत्ति हुन् । यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु, कदर गर्नु सवै क्षेत्रका जनता तथा राजनीतिज्ञहरुको संयुक्त जिम्मेवारी हुन आउँछ ।

वास्तविक भावनालाई बुझेर यदाकदा रुमलिएका शहीदहरुको युद्धस्तरमा खोजतलास गरी सक्दो सम्मान गर्नु सवैको कर्तव्य हुन आउँछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरुपमा कदर गरी उनीहरुले पहिल्याएको बाटोमा अग्रसर हुन र भनाइ अनुसार गराइमा परिणत गर्न सकेमा मात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिन सक्छ । मानिस बाँच्नका लागि जन्मन्छ र जन्मनका लागि मर्दछ । तर समाजमा यस्ता पनि मानिस हुन्छन् जो बाँचिरहनका लागि मर्दछन् । यसरी मरेर गए पनि जनमानसमा बाँचिरहने सपुतहरुमध्ये हाम्रा प्रातःस्मरणीय शहीदहरु पनि हुन् ।