• मंसिर १२ २०८१, बुधबार

म त अहिले जवान नै छु, मर्ला र खाउँला नसोचे हुन्छ : प्रधानमन्त्री ओली

माघ १५ २०७७, बिहीबार

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार  प्रतिनिधिसभा विघटन गरेर नयाँ बाटोमा गएको बताउनुभएको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को विहिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतामा जानबाट रोक्न प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । अराजनीतिक तथा अराजक प्रबृत्ति अहिले किनारा लागेको बताउनुहुँदै अध्यक्ष ओलीले पार्टीभित्र शुद्धीकरणको काम भएको बताउनुभयो । 

ओली छिटो मर्ला र खाउँला कुरेर बसेकाहरु भ्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “भर्खर त मेरो बुवा बुढो हुन थाल्नुभएको छ, म त अहिले जवान नै छु, मर्ला र खाउँला नसोचे हुन्छ ।” कसैले मलाई कमजोर छ ठानेमा त्यो भ्रम हुनेछ उहाँले भन्नुभयो । 

सरकार देश र जनताको पक्षमा काम गरिरहेकाले देशहित नचाहने तत्वहरु सल्बलाएको उहाँले टिप्पणी गर्नुभयो । जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र जनताको पक्षमा सरकारले काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । युवालाई रोजगारी दिन सरकारले उद्योग कलकारखानादेखि अन्य रोजगारमुलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सरकारलाई काम गर्न नदिने अहिलेका नेता नै विगतको आफ्नो नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।