काठमाडौं । निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ । आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्न थालेको छ ।
पुस ५ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता भइ त्यसै मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिको नामावली आयोगले अद्यावधिक गर्न लागेको हो । आजैदेखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन तीनवटै तहका सरकारलाई आग्रह गरिएको आयोगका प्रवक्तासमेत रहेका सह–सचिव राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।
यसका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ३ वटै तहका सरकारलाई १५ बुँदे निर्देशन दिइएको उनले बताए ।
आयोगले निर्देशन गरे अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ ।