काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको बताएकी छन्।
बनेपामा अखिल नेपाल महिला संघ काभ्रेले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भू–भाग समेटेर चुच्चे नक्सा जारी भएपछि ओलीलाई पदबाट हटाउने खेल सुरु भएको जनाएकी हुन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई नफाली नहुने गरी खेल सुरु भयो, उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि ओलीलाई हटाउन लागेका हुन्।’
आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन्।‘वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ। यो निर्वाचनबाट फेरि ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउछ’, उनले भनिन्, ‘कम्युनिस्ट पार्टी फुट्यो, अब जय नेपाल बाकसभी हुनेछ भनेर कसैले नसोचे हुन्छ। यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउछ।’