• मंसिर ११ २०८१, मंगलवार

पञ्चतन्त्र नीतिशास्त्र के हो ?

माघ १५ २०७७, बिहीबार

संस्कृत साहित्य अथाह ज्ञान भण्डारको मुहान हो । संस्कृतका ज्ञाता तथा विद्वानहरुले हाम्रो लागि थुप्रै कृतिहरु छाडेर गएका छन् । तिनीहरुको उचित व्यवस्थापन हुन नसकेको कारणले पूर्वीय दर्शकहरु ओझेलमा मात्र नभई दिनप्रतिदिन लोपहुँदै गएका छन् । आजको युवा भौतिक युवा भए तापनि आध्यात्मिक पक्षलाई पूर्ण निस्तेज पर्न कहिल्यै पनि सकिदैन । आध्यात्मिक पक्ष पनि कुनै न कुनै रुपले अस्तित्व स्वीकार्नु नै पर्दछ । आध्यात्मिक पक्षलाई पनि वैज्ञानिक अध्ययन र विश्लेषणको आवश्यकता छ ।

अहिल्यै जति पनि संस्कृत साहित्यका ग्रन्थहरु अध्ययन र अनुसन्धान भैरहेका छन् । तिनीहरु सबै विज्ञानसँग निकै नै नजिक रहेको कुरा दिनप्रतिदिन प्रस्ट हुँदै आइरहेको छ । संस्कृत भाषामा ज्ञानको कमीले गर्दा विज्ञानका हरेक पक्षसँग घाँटी जोडिरहेका ग्रन्थहरु आज हामीले गुमाउनु परेको तीतो यथार्थ हामीसँग छ । जति पनि संस्कृतका विद्वान छन्, उनीहरुले संस्कृत साहित्यलाई युद्धस्तरमा अनुवाद गर्नु आजको आवश्यकता हो ।

यसै सन्दर्भमा हाम्रा अग्रज श्री तिलकप्रसाद लुइँटेल (२०१९) ज्युले चारै वेदहरु नेपालीमा अनुवाद गरिसक्नु भएको छ । हाम्रा पूर्वजहरुको पालामा विद्यालय, विश्वविद्यालय नभएको बेलामा यिनै संस्कृत साहित्यको पढाइ हुन्थे । तिनैमध्ये एक पञ्चतन्त्र पनि हो । गुरुकुल आश्रममा यस्तै ग्रन्थको पढाइ हुन्थ्यो । पारिवारिक पाठशालामा पनि यस्तै ग्रन्थहरु पढेर विद्यार्थीले आफुलाई चाहिंदो व्यवहारिक ज्ञान हासिल गर्दथे ।

आजको विकसित शिक्षा प्रणालीमा समेत व्यवहारिक ज्ञानको निकै अभाव खड्किइरहेको छ । यसैलाई केही हदसम्म भए पनि पूरा गर्न लुइँटेलज्यु नीतिशास्त्रको प्राचिन महत्व बोकेको र आजको विश्वलाई पनि अति नै उपयोगी ग्रन्थ पञ्चतन्त्र नेपालीमा रुपान्तरित गर्नु भएको छ । साँच्चै सार्थक सत्कार्य हो । वास्तवमा संस्कृतका ज्ञाता विद्वानले संस्कृतका अमूल्य ग्रन्थलाई यसरी नै एकपछि अर्कोमा रुपान्तरण गरेर नेपाली ज्ञान भण्डारमा समयसापेक्ष नेपाली साहित्यलाई सहज बनाउनु आजको आवश्यकता हो ।

संस्कृत साहित्यरुपी आपार ज्ञानभण्डारमध्ये पञ्चातन्त्र पनि एक अनुपम ‘रत्न’ हो । सबै किसिमका अर्थशास्त्रको र संसारको सारलाई जाँचेर आचार्थ विष्णु शर्माले यो रमाइलो पञ्चतन्त्र नाम भएको संस्कृत ग्रन्थ निर्माण गरेका हुन् । त्यतिखेर दक्षिणतिर कुनै देशमा महिलारोप्य नाम गरेको एउटा नगर थियो । त्यहाँ अन्यन्त्र दयालु, राजाहरुका बिचमा ज्यादै सम्मान पाएका, सम्पूर्ण कलामा पारंगत अमर शक्ति नाम गरेका राजाले राज्य गर्दथे । उनका बहुशक्ति, उग्रशक्ति र अनन्तशक्ति नाम गरेका तीनवटा अति नै कमजोर बुद्धि भएका मूर्ख छोराहरु थिए । राजा ती तीन छोरालाई शिक्षा दिन साह्रै चिन्तित थिए ।

एक दिन राजाले पाँच सय ब्राह्मणलाई शिक्षा दिन उपाय निकाल्नका लागि आग्रह गरे । सबै ब्राह्मणले आआफ्नो तर्कहरु राखे । त्यही रहेकामध्ये एकजनाले महाराज बाह्र वर्षमा ब्याकरणको ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मैले सुनेको छु, त्यसपछि मनुस्मृति, अनि अरु विद्वानले लेखेका धर्मशास्त्र, चाणक्यादि विद्वानले लेखेका अर्थशास्त्र र वात्सायनले लेखेको कामशास्त्र अझै पढ्न बाँकी रहन्छन् । ती सबैलाई अध्ययन गरेर फेरि चिन्तनमनन गरेपछि भने यिनीहरुका बुद्विको विकास होलाजस्तो मलाई लाग्छ भने ।

यी सबै ब्राह्मणको कुरा सुनेपछि राजाले विष्णु शर्मालाई बोलाएर भने- ‘हेर्नुहोस् महोदय ! ममाथि अनुग्रह गर्नका लागि यिनीलाई अर्थशास्त्र आदिका विषयमा जतिसक्दो चाँडो अरुभन्दा जनाकार बनाइदिनुहोस्, यसो भयो भने म तपाईलाई एक सयवटा गाउँको शासन गर्ने अधिकार दिनेछु ।’ त्यसपछि विष्णु शर्माले राजालाई विनम्रतापूर्वक विन्ति गरे- ‘हे महाराज ! मेरो साँचो कुरो सुनिबक्सियोस् । म सय गाउँको शासनका लागि विद्या बेच्दिन । तैपनि हजुरका छोरालाई ६ महिनामा यदि नीतिशास्त्र जान्ने बनाउन सकिन भने म आफ्नो नामै त्यागिदिनेछु ।

ज्यादै कुरो के गंरु ? मेरो यो स्पष्ट शब्दमा गारिएको सिहंनाद सुनिबक्सियोस् । म धनको लोभी कहलाउन चाहन्न । यस शरीरका सबै अंगप्रत्यंग गलिसकेका असी वर्षको उमेरमा मलाई धनको आवश्यकता पनि रहेको छैन । तर पनि हजुरको आग्रहलाई पालन गर्दै विद्याको खेल खेल्ने विचार गरेको छु । आजको मिति लेखिबक्सियोस् । यदि मैले ६ महिनाभित्र हजुरका छोरालाई नीतिशास्त्रका विषयमा अद्वितीय बनाएन भने हजुरले मेरो स्वर्गजाने बाटो रोकेर नर्कतिर पठाउन सकिबक्सनेछ ।’

त्यसपछि विष्णु शर्मा ब्राह्मणको त्यस्तो कठिन प्रतिज्ञा सुनेर मन्त्रीहरुसहित राजा पनि आश्चर्यचकित हुँदै नम्रतापूर्वक राजकुमारलाई उनको सेवा गर्नका लागि जिम्मा लगाएर ढुक्क भए । विष्णु शर्माले ती राजकुमारलाई बुद्धिमान बनाउनका लागि पाँचतन्त्र विद्या सिकाए ।

प्रथम तन्त्र: मित्रभेद

यस तन्त्रमा निम्न लिखित कथाहरुको उल्लेख गरेका छन् । जसमा फेसो उखेल्ने बाँदर, स्याल र मादल, दन्तिल र गोरम्त्र, दुतिजम्बुक र आषाढभूति, बिष्णुरुपधारी जुलाहा, पोथी काग र कालो सर्प, बकुल्लो र गंगटो, सिंह र खरायो, जुम्रो र उडुस, चण्डरव स्याल ,उँट र कागहरु, हुट्टीट्याउँ र समुन्द्र, मूर्ख कछुवा, तीनवटा माछा, भंगेरो र हात्ती, सिंह र स्याल, भंगेरो र बाँदरको हुल, बाँदर र भंगेरा जोडी, धर्मबुद्वि र पापबुद्धि, बकुल्लो र न्याउरी, फलामे तराजु, बानियाँको छोरो, राजाको बाँदर, चोर ब्राहण रहेका छन् ।

द्वितीय तन्त्र: मित्र सम्प्राप्ति

यस तन्त्रमा निम्न लिखित मित्र सम्प्रप्ति सम्बन्धित कथाहरु पाइन्छन् । यसमा हिरण्यक र ताम्रचुड, पीठो साट्ने ब्राह्मणी, सिकारी र बँदेल, व्यापारीको छोरो, अभागी सोमिलक, साँढे र स्याल आदि रहेका छन् ।

तृतीय तन्त्र: काकोलुकीय

यस तृतीय तन्त्रमा काकोलुकीय कथाहरु पाइन्छन् । ती निम्न छन्: काग र उल्लुको शत्रुता, खरायो र हात्तीको हुल, शशक र कपिञ्जल, बाख्रो लिएका ब्राहण, कमिला र सर्प, ब्राहण र सर्प, सुनचरी ढुकुर र व्याधा, चोर र बुढा व्यापारी, ब्राहण चोर र पिशाच, प्वाल र पेटका सर्प, रथाकारर्की स्वास्नी, मुसीको बिहे, सुन बिस्ट्याउने चरो, सिंह स्याल र गुफा, भ्यागुतो र मन्दविष सर्प, घिउले अन्धा ब्राह्मण आदि रहेका छन् ।

चतुर्थ तन्त्र: लब्ध प्रणाश

यस चौथो तन्त्रमा लब्ध प्रनाश सम्बन्धित कथाहरु पाइन्छन् । ती निम्न हुन्– गंगदत्त र प्रियदशर्न, सिंह र लम्बकर्ण, कुमाले युधिष्ठिर, सिंह र स्यालको बच्चो, ब्राहण दम्पत्ति, नन्द र वररुचि, दुर्मुखे गधा, हलिकी स्वास्नी नाङ्गिई, घन्टाघारी उँट, चङ्खे स्याल, परदेशिएको कुकुर ।

पञ्चम तन्त्र: अपरीक्षितकारक

यस पञ्चम तन्त्र अथवा अन्तिम तन्त्रमा अपरीक्षितकार सम्बन्धी कथाहरु पाइन्छन् । ती निम्न प्रकारका छन्: मुड्ला सन्यासी ब्राहण र न्याउरी, लोभी चक्रधारी, सिंह न्युझाउने मूर्ख ब्राह्मण, मूर्ख पण्डितहरु, माछा र भ्यागुता, गधा र स्याल, मन्थर जुलाहा, सोमशर्माको बाबु, लोभी चन्द्रभूपति, विकाल र बाँदर, अन्धो, कुँजो र तीन थुने, राक्षस बोक्ने ब्राहण, भारुण्ड पक्षी नासियो, ब्राहण र गंगटो ।

यिनै नीतिका पाँच प्रकरणहरु बनाएर राजकुमारलाई अभ्यास गराए । यसो गर्न थालेको छ महिनाभित्रै उनीहरु विद्वान र ज्ञानीगुनी भए । त्यसै बेलादेखि यो पञ्चतन्त्र नामको नीतिशास्त्र बालकलाई सद्बुद्धि दिएर व्यवहार कुशल बनाउनका लागि प्रयोग भयो । आजको दिनसम्म यो नीतिशास्त्र संसारमा प्रसिद्व भएको छ ।

अधिते य इदं नित्यं नीतिशास्त्रं शृणोति च

न परात्रवमाप्नोति शक्रादपि कदाचन ।।१०।।

जसले यस नीतिशास्त्रलाई नियमित रुपमा नित्य पढ्छ अथवा अध्ययन अनुसन्धान गर्दछ, त्यो व्यक्ति संसारमा ज्यादै प्रशिद्ध हुन्छ र उसको ख्याति देवराज ईन्द्रले पनि आएर हरण गर्न सक्दैन ।