श्री स्वस्थानी व्रतकथा माघ १५ गतेबाट सुरु हुँदै छ । माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर ब्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिलाले पौष शुल्कपूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्यान्हमा महादेवको पूजा गरी ब्रत सुरुआत गर्दछन् । माघ शुक्लपूर्णिमासम्म व्रत अवधिभर ब्रतालुहरुले एक छाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ ।
ब्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा बिसर्जन गरी बाँकी आफूले खाने चलन छ । स्वस्थानीको ब्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगब्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ । ती स्थानहरुमा एक महिनाभर मेला पनि लाग्ने गर्दछ ।
स्वस्थानी भगवतीको ब्रत, पुजा र कथा नेपालीको घर-घरमा गरिन्छ ।
नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रुपमा मनाइने स्वस्थानी ब्रतकथा हो । यो नेपालमा स्वस्थानी भगवनीको पूजाको ठूलो महत्व छ । अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ । स्वस्थानी भगवतीको ब्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन २-२ अध्याय भनेर पनि सक्नुपर्छ ।
यद्यपि माघस्नानको नियम र महत्व छिमेकी देश भारतमा पनि देखिन्छ । किन्तु स्वस्थानी भगवतीको पूजा नेपालीको आफ्नो विशेषता हो । धर्मप्राण नेपालीमा स्वस्थानीको कथाले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ । स्वस्थानी ब्रतको कथामा शिव शर्मा र ब्राम्हण र उनकी ब्राम्हणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले गर्दा त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रुपवती कन्या उत्पन्न भइन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ‘असी वर्षको बूढो तेरो पति होस्’ भन्ने श्राप पाइन् । त्यस्तै भयो र बृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो । बृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् ।
गोमाले छोरो पाइन र उनको छोराको नाम नवराज राखियो । छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानु भयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त वताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के । उता गोमाले ऋषिहरुको उपदेशले स्वस्थानी भगवतीको ‘मेरो छोरो चाँडै फर्कोस्’ भनेर पूजा ब्रत गरिन् । नवराजले पनि भगवान शिवको स्तुति गरेर राज्य पाउने बरदान पाए । घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए । आमालाई बोलाए । नवराजले अर्को विवाह गरे ।
उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन् ।
बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्टी भएर भुइँमा खसेर बसिन् । पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन् । यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन् । पछि उनै भागवतीको ब्रत र पुजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन् । त्यसो हुँदा स्थान च्यूत ब्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ । स्वस्थानीको ब्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला ब्रतकथा हो । यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्य गर्न छोड्न हुन्न ।
सगम्रमा भन्नुपर्दा नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ ।
जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत एवं पूजा गर्ने परम्परा रहिआएको छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी माहात्म्यको पूर्व भागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा बिबाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गर्नुभएको प्रसङ्ग आएको छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको ब्रत गरेको प्रभावले महादेवलाई नै पतिको रुपमा प्राप्त गरेको प्रसङ्ग आएको छ ।
स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसङ्गबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको ब्यक्तिहरुको सम्मान गर्दै उनीहरुले सिकाएको पाठलाई शिरोधार्य गर्नुपर्छ, अनिमात्र स्वस्थ समाज बन्ने कुराको अनुभूतिजस्ता दृष्टान्त दिन खोजेको पाइन्छ ।