• बैशाख ११ २०८२, बिहीबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर

माघ १३ २०७७, मंगलवार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब-इन्जिनियरविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माण निकासा दिलाइदिएबापत घुस माग गरिरहेका थिए। घुस माग गरेको सूचनाको आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपछि अन्तिम निकासा गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेको अनुसन्धानबाट खुल्न आएको छ ।

घुस लिएको पुष्टि भएसँगै उनीविरूद्ध अख्तियारले मंगलबार काठमाडौँको विशेष अदालतमा एक लाख ५० हजार बिगो कायम गरी ६ महिनादेखि एक वर्ष ६ महिनासम्म कैद सजायको मागसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हो।