• मंसिर १७ २०८१, सोमबार

कोट र गम्बुट लगाएर मानिस झैं हिंड्ने पेन्गुइनको नयाँ संसार

माघ १३ २०७७, मंगलवार

पेन्गुइन हिउँमा बस्ने हिमचरा हो । पानीमा यो कुनै माछा झैं पौडिइरहेको हुन्छ । हिउँमाथि यो मानिस झै हिंडिरहेको हुन्छ । यसको जन्मदेखि मृत्युसम्मको सिंगो जीवन हिउँ र चिसो पानीमा बित्छ । यसको संसार भनेको ध्रुवीय हिउँ र ध्रुवीय महासागर हो । हिउँमाथि हिंड्न र हिउँमुनीको पानीभित्र पौड्न निकै माहिर यो चरा आफैमा प्रकृतिको असामान्य उपहार हो । सुरुमा पेन्गुइन नामाकरण कसरी गरियो भन्ने बारेमा विभिन्न धारणाहरु छन् । सबै सहमत रहेको कुरा एउटै छ: चराजस्तो तर चराकै प्रजातिमा नपर्ने भनेर पेन्गुइन नाम दिइएको हुनसक्छ । तर यो नामाकरण अति नै प्राचीन हो ।

पेन्गुइनका किसिम:

पेन्गुइनका प्रजाति कति थिए भनी पत्तालगाउन विशेषज्ञहरु यसको जीवांश अध्ययनमा जुटेका छन् । हालसम्म पत्ता लागेअनुसार यसका २५ प्रजाति रहेको पाइएको छ । तर धेरै प्रजाति त लोप भएर हराइसकेका छन् । जीवांश अध्ययनबाट १८ प्रजाति पत्ता लागेका छन् । यी प्रजातिहरु अन्टार्कटिकादेखि भूमध्यरेखासम्म पाइएका छन् । हाल हिउँमा बस्ने पेन्गुइनका प्रजातिहरु निकै संकटमा परिरहेका छन् । विश्व तापमान बृद्धिका कारण ध्रुवीय हिउँ पग्लने र पहिरो जाने प्रक्रिया तीब्र गतिमा अघि बढिरहेको छ ।

अठार प्रजातिमध्ये मुख्यतः जेन्टु, किङ, इम्पेरर, एडेली, चिन्स्ट्राप, सानो वा फेयरी, ब्लु, म्यागल्यानिक, हम्बोल्ट, ग्यालापागोस्, अफ्रिकन, पहेंलो आँखे, फियोडरल्याण्ड, स्नेयर्स, इरेक्टक्रेस्टेड, सदर्न रकहोपर, नर्दर्न रकहोपर, रोयल, म्याकारोनी आदि रहेका छन् ।

ध्रुवबाट भूमध्य रेखातिर बग्दैछन् पेन्गुइन:

पहिले पहिले अन्टार्कटिका ध्रुवमा मात्र पाइने पेन्गुइन ‘ग्लोबल वार्मिङ’का कारण हिउँ पग्लन थाल्दा हिउँपानी र आइस वर्ग (हिउँका ढिक्का) सँगै बगेर भूमध्य रेखा नजिक रहेका दक्षिण अफ्रिका, चिली, पेरु, ग्यालापागोस द्वीप, न्युजिल्याण्ड, अष्टे«लिया लगायतका देशका समुद्री तटमा आइ बस्न थालेका छन् ।

मानिस झैं सरासर हिंड्छन् पेन्गुइन:

मानिस झैं सरासर हिंड्ने पेन्गुइन चरा हुन् कि होइनन् त ? यी चरा त हुन्, तर अरु चराजस्ता होइनन् । जमिनमा रहेको अष्ट्रिच तथा किवी प्रजातिका चरा पनि उड्दैन । पहिले पहिले त मानिसले यिनलाई स्तनधारी नै सम्झन्थे । पेन्गुइनका पखेटा हुन्छन्, फूल पार्दछन् र बच्चा कोरल्दछन् । ती उड्न सक्दैनन् । तिनीहरु तातो रगत भएका प्राणी हुन् ।

पेन्गुइनको शरीरमा कोट र गम्बुट:

यिनीहरुको मुलायम प्वाँख हुन्छन् । तर प्वाँखहरु निकै छोटा र मसिना हुन्छन् । यिनका शरीरमा यति धेरै र साना मसिना प्वाँख हुन्छन् कि हाँसजस्तै यिनीहरुको शरीर कहिल्यै पनि पानीमा भिज्दैन । यी प्वाखले पेन्गुइनको शरीरमा वाटरप्रुफ कोटजस्तै काम गरेका हुन्छन् । यिनको खुट्टामा कुचालक पत्रले पूरै बेह्रेको हुन्छ । यो पत्र बाक्लो र बलियो हुन्छ यसले पनि वाटरप्रुफ गमबुटको झैं काम गरिरहेको हुन्छ । यिनै कोट र गम्बुटका कारण पेन्गुइनको शरीरमा चीसो पस्दैन ।

मानिसका झैं दुई घुँडा:

पेन्गुइनका खुट्टा छोटा र मजबुत हुन्छन् । यति छोटा खुट्टामा पनि घुँडा हुन्छन् । अचम्मको कुरा त के छ भने यी घुँडाहरु हिउँमाथि हिंडदा खुम्चदैनन् । त्यसैले हिउँमा पेन्गुइन सिधासिधा हिंड्ने गर्दछ । तर यी घुँडा पानीमा पौडिंदा भने खुम्चने र तन्कने गर्दछन् । यिनै खुट्टाले यिनलाई निकै गतिमा पौडन सहयोग गर्दछन् । हेर्दा निकै रोचक र सामान्यजस्तो देखिए पनि पेन्गुइनका लागि हिंड्नु निकै कठीन काम हो ।

हावाको गतिमा पौडने क्षमता:

हिउँमा वा जमिनमा हिंड्दा पेन्गुइन निकै ढिला गतिका देखिए पनि पानीमा पौडिदा यी निकै वेगवान हुन्छन् । पिङ खेलेको गतिमा हुइँकिने गर्दछन् । पानीमा पौडनु यिनका लागि हावामा उड्नु बराबर हो । यही गतिका कारण यिनीहरु सिकारी माछा, सार्क र ह्वेलका आहारा हुनबाट बच्ने गर्दछन् । पानीभित्र आश्चर्यजनक गतिमा हुने पेन्गुइनले शत्रुलाई जहाँको त्यहिं सजिलै छल्ने र छक्याउने गर्दछन् ।

पेन्गुइनका ‘मिन पचास’:

‘मिन पचास’ भनेको जलचर प्राणीले पनि चीसोको अनुभूति गर्ने हिउँदका पचास दिनहरु हुन् । यी पचास दिनमा पुस महिनाका ३० दिन र माघ महिनाका २० दिन पर्दछन् । बाह्रै महिना हिउँमा बस्ने र पानीमा खेल्ने भए पनि मिनपचासमा पेन्गुइनले जाडोको महसुस गर्दछन् । त्यसो त पानीमा बस्ने भए पनि माछाले पौषको महिना पूरै र माघको आधासम्म ‘मिन पचास’ अनुभू ितगर्दछ । यति बेला माछा समूहमा कुर बनाएर एकै ठाउँमा जम्मा हुने गर्दछ । हिउँमा बस्ने पेन्गुइनमा पनि यो नियम लागू हुन्छ ।

पेन्गुइनको मुटुबाट प्रसार  हुन्छ ताप:

मिन पचासका समयमा पेन्गुइनका खुट्टाहरु चिसिने र जम्ने पनि गर्दछन् । तर यिनीहरुको शरीरमा ताप पैदा गर्ने अनौठो शक्ति हुन्छ । यो ताप मुटुबाट नै पैदा हुन्छ । खुट्टा जम्शन थालेपछि मुटुबाट झड्का दिने करेन्टका रुपमा उनीहरुको खुट्टासम्म ताप प्रसार हुन्छ । यसले खुट्टामा जमेको रगत मुटुसम्म ल्याउँछ, त्यसलाई तातो बनाएर फेरि खुट्टातिरै प्रसार गरिदिन्छ । यतिले पनि नपुगेमा उनीहरुको शरीर र मुटुमा प्रतिताप पैदा हुन्छ । यसले उनीहरुको जीवन समाप्त हुनबाट बचाउँछ । ताप र प्रतितापले मात्र उनीहरुको जीवन संभव बनाएको हुन्छ । निदाएको वा मरेको झैं अवस्थामा रहेका पेन्गुइन ताप र प्रतितापको झड्काका कारण झसंग भएका र ब्युँझिएका देखिन्छन् ।

पोथी अण्डा पार्छ, भाले ओथारो बस्छ:

पेन्गुइन जाडो मौसममा अण्डा पार्ने र ओथारो बस्ने गर्दछन् । पोथी पेन्गुइनले पारेको अण्डा भाले पेन्गुइनले बच्चा नकोरिलासम्म आफ्ना खुट्टामा राखेर चीसोबाट बचाई बच्चा निकाल्दछन् । यो विशेष गरी अति जाडो पनि सहन सक्ने इम्पेरर प्रजातिको पेन्गुइन र त्यसमा पनि भाले जातकाले सहन गर्न र यो दायित्व बहन गर्न सक्दछन् । यो कठीन काम भाले पेन्गुइनले गरिरहँदा पोथी पेन्गुइन भने समुद्रमा डुल्ने र माछा खाने गरिरहेका हुन्छन् ।

झण्डै मानिस बराबर अग्ला हुन्छन् किङ पेन्गुइन:

किङ पेन्गुइन तीन हात अग्ला हुन्छन् । हाल लोप भइसकेका प्रजातिमध्ये एन्थोपोर्निस नोर्डेन्स्क्जोल्डी भनिने पेन्गुइन त चार हात अर्थात् मानिस जत्तिकै अग्ला हुने गर्दथे । यिनीहरु मनिस हिंढे झैं हिंड्छन् ।

हिमचितुवा मुख्य दुस्मन:

हिमचितुवा पेन्गुइनको सबैभन्दा ठुलो शत्रु हो । हिम चितुवाले खाने भन्दा पनि धेरै पेन्गुइनको सिकार गरेर सत्यानाश पार्दछ । हुन त सील माछा र शार्क तथा अन्य माछाहरुले पनि पेन्गुइनको सिकार गर्ने र खाने गर्दछन् । हिमभालु पनि पेन्गुइनका लागि उत्तिकै खतरा मानिन्छ । तर भालुले सिकार गरिसकेको पेन्गुइन खाइनसक्दासम्म अर्कोमाथि जाइ लाग्दैन । त्यति बेला अरुहरु बचेर भाग्ने मौका पाउँछन् ।