काठमाडौं । भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो लिएका छन् ।
दाङबाट काठमाडौं फर्किने क्रममा भैरहवा ओर्लिएका प्रधानमन्त्री ओलीले गौतमबुद्ध विमानस्थल निर्माणको अवस्थाबारे जानकारी लिएका हुन् । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म भएको विमानस्थलको प्रगति, प्राविधिक जनशक्ति आउनमा भएको ढिलाई र विमानस्थल सञ्चालनबारे जानकारी लिए ।
दाङमा आयोजित जनसभामा सहभागी हुन पुगेका प्रधानमन्त्री ओली चढेको नेपाली सेनाको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाए ।