राजनीतिकसँगै समाजमा जातीय र धार्मिक कुराहरुको बहसले पनि निकै स्थान लिने गर्छ । मानवजातिको विकाससँगै अनेक संस्कृति र परम्परा जन्मिएका कारण यसो हुनु स्वभाविकै पनि हो । तर धर्म वा राजनीति गर्ने नाममा एकले अर्कालाई आक्षेप लगाउनु भने राम्रो होइन । इतिहासमा वा हाल पनि कुनै समूदायमाथि अर्को समुदाय वा वर्गले थिचोमिचो गरेको छ भने बसेर छलफलबाट समाधान निकाल्नु पर्दछ । आजको विकसित चेतना सहितको मानिसले यो विधि अपनाउनु नै उत्तम हुनेछ । इतिहास बुझियो भने मात्रै वर्तमान बुझ्न सकिन्छ र भविष्यको योजना बनाउन सकिन्छ । धार्मिक हिसावले आफूलाई समाजमा स्थापित गर्दै आएका व्यक्तिहरुले आफूलाई यसरी नै प्रस्तुत गर्दै आएका छन् र आउनु पर्छ । यसैबिच इतिहासको पुनरावलोकन गर्नेक्रममा खासमा नेपाली समाज हिजो कस्तो थियो त ? यसबारेमा गोलमिडिया खबरका संवाददाताले बौद्ध धर्मगुरु सूर्य बज्रयानासित कुरा गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेपः सम्पादक
बुद्धधर्ममा छुवाछुत हुन्छ कि हुँदैन ?
बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानसहितका जातजाति नेपालमा छन् । तर बौद्धधर्मका प्रवर्तक बुद्धले छुवाछुतको पाटो नै सिकाउनु भएको छैन । बरु यसविरुद्ध निरन्तर संघर्ष गर्दै आउनु भएको छ । बुद्धले छुट्याएको जात भनेको महिला र पुरुष हो । बुद्धको समयमा पनि छुवाछुत रहेको ग्रन्थमा उल्लेख भएको पाइन्छ, तर् त्यो बेलामा यसको प्रभाव थोरै थियो । त्यो हिन्द क्षेत्रमा मात्र थियो । त्यति बेला ब्राह्मणहरुको संख्या निकै कम थियो । ब्राह्मणहरुले गर्ने धर्मकर्म र क्रियाकलापमा छुवाछुत थियो । त्यति बेला ब्राह्मण भन्ने धर्म आफैमा छुट्टै थियो । त्यो ब्रह्मणको सानो संख्यामा सिमित थियो । त्यो धर्मलाई हिन्दु नामाकरण गरेको धेरैपछि मात्र हो । तात्कालीन ब्राह्मणहरुले गरेको छुवाछुतको व्यवहार देखेर बुद्धले ‘तिमीले गरेको छुवाछूत तिम्रो कुनचाहिं ग्रन्थमा लेखेको छ’ भनेर सोध्नुभएको थियो । यस प्रश्नका अगाडि उनीहरु नाजवाफ भएका थिए । र, गल्ती भएको स्वीकार गरी बुद्धको शरणमा आएका थिए । बुद्ध आफूले प्रमाण र कारणको खोजी गर्ने भएकाले हम्मेसी उहाँको नजिक बहस गर्न मानिस देखा पर्दैन थिए । यी कुरा श्रुतिमा मात्र होइन, बौद्ध ग्रन्थहरुमा पनि लेखिएका छन् ।
ब्राह्मण धर्म कहाँबाट आएको हो ?
ब्राह्मण युरेशियाबाट आएको इतिहासले देखाउँछ । भारतीय उपमहाद्वीपमा आउँदा उनीहरुले यो विभेदपूर्ण जातीय प्रथा उतैबाट लिएर आएका थिए । यो प्रथा युरेशियाबाट भित्रिएको हो । यो भारतीय उपमाद्वीपको मौलिक प्रथा होइन । यी सबै ब्राह्मण धर्ममा आधारित थिए र छन् ।
पछि मात्र आएर सिन्धु घाँटीको सभ्याताको कुरा आएको हो । सिन्धुलाई त्यतिबेला ‘सिधु’ भनिन्थ्यो । नदीलाई घाटी भनेर सम्बोधन गरिएको छ । ‘सिधु’ उपत्यकामा बसी यिनीहरुले आफ्नो प्रभाव बिस्तार गरेका थिए । पछि मात्र सिन्धु भनिएको नदीलाई हाल इन्दु नदी भनिन्छ । यो हाल पाकिस्तानमा पर्छ ।
त्यसो भए हिन्दु धर्मअनुसार मानिएका त्रेता र द्वापर युगका मूल चरित्र राम र कृष्णले कुन चाहि धर्म मान्ने गरेका थिए त ?
त्रेता र द्वापरमा जात प्रथा थिएन । कहिं र कतै पनि जात जातिका आधारमा कसैमाथि विभेद गरिएको पनि पाइँदैन । हो, आआफ्ना समुदायका आआफ्ना मान्यता र संस्कृतिहरु भने अवश्य पनि रहेका देखिन्छन् । महाभारतमा आउँदा कर्णलाई सूदपुत्र भनिए पनि हरेक कर्म र गतिविधिमा उनको समान सहभागिता रहने गरेको छ । कथा पछि मात्र लेखिएकाले पनि त्यहाँ जातको गन्ध पर्न गएको देखिन्छ ।
राम र कृष्णहरुले ‘श्रवण धर्म’ मान्दथे । श्रवण धर्म अहिले पनि बुद्ध धर्माबलम्बी माझमा रहिआएको छ । पछिल्लो समयमा आएर हिन्दुहरुले ढोंगको रचना गरे र ढोंगी भए । संस्कार पनि त्यस्तै हुन गए । श्रवण धर्म मान्नेले पञ्चशीललाई मान्दछन् । त्यति बेला जसले पञ्चशील नै मान्दैनथ्यो, त्यसलाई धर्म नै मानिदैनथ्यो । धर्मको गुदी कुरा भनेको पञ्चशीललाई मान्नु हो ।
वास्तवमा धर्म के हो त ?
पञ्चशील पालन गर्नु नै धर्म हो । आफूलाई अनुशासित नबनाएर धर्म कसरी पालना हुनसक्छ र ? धर्म व्यापार र बिजनेस पनि होइन । धर्म धनआर्जनका लागि होइन । मैले बुद्धका कुरा मेरै जीवनमा लागू गर्न नसके म कसरी धर्मप्रति प्रतिबद्ध रहन सक्छु ? मैले व्यवहारतः बुद्धले दिएका उपदेश लागू गरेर देखाउने हो । देखावटी काम कुनै पनि धर्म होइन, यो केवल ढोंग मात्र हुन जान्छ ।
जातका कुरा पुराणहरुमा आएर बढि देखिएको छ नि ?
साँचो हो । जातिय प्रथा सबल बनाउने नाममा हिन्दुहरुले त्यसो गर्न पुगे । यसको राजनीतिक कारण समाजमा विभाजन ल्याएर राज गर्नु पनि थियो । जाति प्रथा चर्को गरी लादेको आजभन्दा ११ शय वर्ष पहिले हो । युरेशियाबाट आएकाहरुले आफूलाई उच्च देखाउन यसो गरेका हुन् । स्थानीयहरुलाई तल्लो कोटीका र आफूहरुलाई उपल्लो कोटिका देखाउन धर्मका नाममा गरिएको योजनबद्ध विभाजन हो यो । हाल नस्लको कुरा गरियो भने भारतीय उपमहाद्वीपमा आएर यहाँका स्थानीय समुदायसँग नातासम्बन्ध जोडिएका र पटकपटक विदेशी अतिक्रमणको सिकार हुुँदै आएका यी युरेसियन आफू कसरी चोखो रहे त ? अनुवांशिकी वा जीनको परीक्षणबाट पनि त्यो कुरा सही नभएको साबित भइसकेको छ ।
हिन्दुहरुको प्रभाव पहिले देखि नै रहेका बेला बुद्धको पालामा कसरी हाबी हुन गएको थियो बुद्ध धर्म ?
हामी आफै विचार गरौं कि आजभन्दा २६ सय वर्ष अघि नै बुद्धका अनुयायीको संख्या ८४ हजार थियो । अनुयायी नै त्यति हुँदा बुद्ध धर्म मान्नेहरु कतिको संख्यामा थिए होलान् ! त्यति बेला बुद्ध धर्म एक महाअभियानका रुपमा अघि बढेको थियो ।
त्यसले समाजमा विभेदरहित समानता र सहभागिताको अगुवाइ गरेको थियो । बुद्ध धर्मको प्रचार र प्रभाव नेपालको दक्षिणतिर वा हालको भारततिर ब्यापक रुपमा हुँदै गएकाले युरेसियन ब्राह्मण नेपालका घना जंगलमा आएर बसेका यहीबाट हिन्दु धर्म पुनः बिस्तार गरेका थिए ।
हिन्दुले यही एकताबद्ध भएको बौद्ध समाजमाथि आक्रमण र अतिक्रमण गरी आफ्नो बर्चस्व कायम गर्न विभेदपूर्ण जातप्रथा लादेर फुट ल्याएका थिए । अहिले जहाँ हिन्दु धर्मको वर्चस्व छ, त्यहाँ शान्ति र मेलमिलाप कमै पाइन्छ ।
पछिल्लो चरणमा नेपालमा क्रिश्चियन धर्मको प्रचारप्रसार निकै बढेको छ नि !
यो धर्मको नाममा व्यापार हो । प्रत्येक शनिवार चर्चमा जानु पर्ने, चन्दा सहयोग ‘डोनेट’ गर्नुपर्ने र सम्पत्तिको केही भाग खर्च गर्नसके राम्रो हुने कुरा अर्थ र बिजनेससँग बढि जोडिएर आएका छन् । नेपालीहरु उसले दिएको मात्र देख्छन्, तर आफ्नो गएको देख्दैनन् । धर्म प्रचारका नाममा दिएको डलरमा लोभिएका छन् । तर नेपालीले आफूले जम्मा गरेको पैसा कहाँ गयो, के भयो र कसले खायो भनेर कहिल्यै सोधेको देखिदैन । ती सबै पैसा धर्मगुरु पास्टरकहाँ पठाइएका हुन्छन् । धर्म धन कमाउनका लागि होइन । यो अरुका उद्दार, सहयोग र सहकार्यका लागि हुनुपर्छ ।