कोभिड-१९ को महामारी विश्वबाट अझै हट्न सकेको छैन । औसतमा नेपालमा पनि प्रत्येक दिन ५ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइरहेका छन् । दिनहुँ पाँच हजार पीसीआर परीक्षण हुँदा ५०० सयभन्दा बढि संक्रमित देखिनु दुःखद हो । यो हिसाबले दिनहुँ यदि २५ हजारको पीसीआर परीक्षण गरिन्थ्यो भने कम्तिमा पनि प्रतिदिन २५०० संक्रमित थपिन्थे होला । सरकारले परीक्षण घटाएर संक्रमित घटेको जनाइरहेको छ । कोरोनासँग मिल्ने लक्षण देखिए पनि पीसीआर जाँच नगराउनेको संख्या ठूलो छ ।
बेलायतमा नयाँ प्रजातिको भाइरस देखा परेको समाचार आइरहेका छन् । यो भाइरस अहिलेको भाइरसभन्दा ७० प्रतिशत छिटो फैलन सक्ने विज्ञहरुको दाबी छ ।
यो नयाँ भाइरस नेपाल लगायत विश्वका ५० भन्दा बढि देशमा देखिइसकेको भनिएको छ । यसैले विभिन्न देशले बेलायत आउजाउ गर्न प्रतिबन्ध समेत लगाएका थिए । विकसित देश आफ्ना नागरिकको ज्यानको रक्षा गर्न रातदिन नभनी औषधि उत्पादनमा खटिएका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको खोप लगाइसकेका छन् । जागीर गुमाएर बेरोजगार भएका नागरिकका लागि अमेरिकाले अर्बौं रुपयाँको राहत घोषणा गरेको छ । नेपालीको दशा भन्नुपर्छ यस्तो अवस्थामा पनि घर फर्केका जोखिम मोल्दै रोजिरोटीका लागि फेरि भारत लगायतका विभिन्न देशमा फर्कन बाध्य भइरहेका छन् । सडक दुर्घटनाका कारण दिनहुँ कयौंले ज्यान गुमाउँदै आएका छन् । गर्भवतीले एकछाक भात खान नपाएर आत्महत्या गर्नु परेको छ । सरकारलाई यस्ता कुनै पनि कुराले छुन सकेको छैन । सत्तामा बस्नेलाई शक्तिको मात लागेको प्रस्ट देखिन्छ ।
घर फर्केकाले आफ्नो देशमा विकास भएको देख्नुभन्दा पनि देशको राजनीतिक खिचातानीका कारण वाक्क दिक्क भएर मुन्टो लुकाउन बाध्य भइरहेका छन् । तीन वर्ष अगाडि तामझामका साथ निर्वाचन सम्पन्न भएको थियो । देश, विदेशबाट नेपालीले उत्साहका साथ भोट खसालेका थिए । गोजीबाट हजारौं खर्च गरेर आफ्नै गाउँको विकासको लागि भन्दै बाटोमा चारदिन लगाएर भएपनि हामी काठमाडौंबाट भोट खसाल्नकै लागि अछामको विकट गाउँसम्म पुगेका थियौं ।
यो तीन वर्षमा न मेरो गाउँमा कुनै विकासका काम भए, न त्यहाँका जनताले सुख पाए । घरसम्म पुग्न अहिले पनि चार दिन नै लाग्छ र त्यहाँका जनता रातदिन अन्धकारमै बस्छन् । दुखः गरेर खसालेको भोटको अवमूल्यन भएको देख्दा जनतामा निरासा छाउनु स्वभाविकै हो । समय अगावै अर्बौं खर्च गरेर उनै नेतालाई भोट दिनको लागि फेरि निर्वाचन गर्न तम्सिनु झनै दुःखदायी हो ।
वर्षौदेखिको जहानियाँ राणा शासन, शाही शासन, जनयुद्धको चंगुलबाट कष्टसाथ उम्कन सफल भएका नागरिकलाई अब भने देशले कोल्टो फेर्ला भन्ने लागेको थियो ।
नयाँ भूभाग ओगटेको नेपाल, मेलम्चीको पानी, रेलको सवारी, घरघरमा पाइपलाइन, पानीजहाज, विद्युतीय बस, चिल्ला सडक, रोग, भोक र उपचारको अभावमा अब कसैले ज्यान गुमाउनु पर्दैन भन्नेजस्ता मीठा नारा पनि लगाइए । जनतालाई देखाइएका कुनै पनि सपना पूरा गर्न सरकार असफल रह्यो । कोरोनाका विरामीले उचित उपचार पाउन सकेनन् । यहीबिचमा अन्य कारणले विरामी परेकाले समेत उपचार नपाएर ज्यान गुमाउनु पर्यो । सरकारी ढुकुटी रित्तिएको बहाना बनाउँदै विरामीको उपचार गर्नुको सट्टा कोरोनाका विरामीले सम्पूर्ण उपचार खर्च आफै व्यहोर्नु पर्छ भन्दै सरकारले उर्दी जारी गर्यो । तर आफूले भने दशैं भत्ता लगायत, बैठक, गाडी इन्धन खर्च सबै प्रकारका सुविधा उपभोग गरिरह्यो । रोग, भोक र शोकले आहत भएका जनतालाई घरभित्रै, बाटोमै, पुलमै, जहाँतहीँ बन्दी बनाएर कर तिर्न मात्रै लगायो ।
सरकारमा बसेकाले अहिलेसम्म देखाउँदै आएका सपना पूरा नगरे पनि कोराना हटेपछि जीवन सामान्य हुँदै जाला । रोकिएका विकासका कामले गति लेला भन्ने आशा गरेका जनतामाथि एकचोटि फेरि तुुसारापात भएको छ । काम बेगर तानतुन गरी तीन वर्ष एकताको ढोंग गरेका प्रधानमन्त्री केपी ओली र प्रचण्ड पानी बाराबारको स्थितिमा पुगेका छन् । कसैले भनेको नसुन्ने, कसैको सल्लाह सुझावविना राष्ट्रपतिबाट मनपरि विधेयक पास गराउँदै जाने, म नै सर्वेसर्वा, म बिना कसैले देश चलाउन सक्दैन भन्ने केपी ओलीको घमण्डका कारण अहिले देश दुर्घटनामा परेको छ । हुन त राम्रो काम गर्नेका खुट्टा तान्ने प्रवृत्ति धेरै ठाउँमा छ नै ।
यही आरोप प्रधानमन्त्रीले प्रचण्ड गुटलाई लगाइरहेका छन् । अर्कोतिर प्रधानमन्त्रीबाट वाइडबडी, एनसेल, औषधि खरिद, यति ग्रुप्र, गोकुल काण्ड, बालुवाटारको जग्गा, ३३ किलो सुन जस्ता अनेकौं भ्रष्टाचार जन्य अपराधिक क्रियाकलापमा अंकुश लगाउनुको सट्टा संरक्षणहुँदै गएको जनताका आँखाबाट लुक्न सकेको छैन । प्रधानमन्त्रीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग हालै गरेको भेटघाट तथा प्रधानन्यायाधिशलाई महामारीको समयमा समेत अरु अत्यावश्यक काम थाति राखेर गाडी किन्न करोडौं रुपयाँ दिएकाजस्ता समाचारले जनतामा झनै आशंका पैदा गरिदिएको छ । पीडितले यस्ता न्यायाधीशबाट न्यायको आशा गर्नु भनेको प्रधानमन्त्रीले भनेजस्तै भाडावालले घरबेटीलाई घरबाट निकाल्नु जस्तै हो ।
प्रचण्डसँग एकता गरी चुनाव जितेका प्रधानमन्त्री केपी ओलीले प्रचण्डमाथि भरोषा नगरे पनि चार दशक देखि सँगै एउटै पार्टीमा सामेल झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायत कसैमाथि त भरोसा गर्न सक्थे ।
आफ्नै गुट्का युवा बुद्धिवान, नैतिकवान युवालाई अगाडि सार्न सक्थे । उनी बाहेक के अरुले देश चलाउनै नसक्ने हो ? उनकै कार्यकालको जस्तै हत्या, हिंसा, बलात्कार, चोरी, पैठारी, भ्रष्टाचारका घटना नघटेपनि सायद बढदैनथे कि । सायद दोषीलाई सजाय भइहाल्थ्यो कि ! असंवैधानिक मानिदै आएको संसद विघटन गराएर महामारीको समयमा चुनाव गराइ अर्बौंको ढुकुटी सिध्याउनु भन्दा पार्टीमै रहेर आफूले सहयोग गर्ने र रगत पसिना बगाइ जनताले तिरेको करको पैसा चुनाव भन्दा पनि रोजगारी सिर्जना गर्नेजस्ता विकासका काममा लगाएको भए जनता औधि खुशी हुन्थे । जनताको लागि राजनीतिमा लागेको हुँ भन्नेले यतिखेर जनताले चुनावको सट्टा, आफ्नै देशमा रोजगारी सिर्जना गरी दुई छाक खान पाउने, आफ्ना सन्तानको पढ्न पाउने हक तथा कोरोनाको खोप मागिरहेका छन् भन्ने कुरा पटक्कै बुझ्न सकेको छैन ।
गाउँदेखि सहरसम्म कोरोनाको त्रास छ । फाट्टफुट्ट खुलेका विद्यालय पनि शिक्षक र विद्यार्थी संक्रमित भएसँगै कतै बन्द छन् भने कतै खल्दै गरेका छन् । विद्यार्थी घरभित्र बस्दाबस्दै शारीरिक तथा मानसिकरुपले विरामी पर्दै गइरहेका छन् । स्थानीय, प्रदेश सरकार के गर्ने, कसो गर्ने भन्ने अलमलमा पर्दा विकासका काममा बाधा परेको छ । यस्तो समयमा भष्टाचार मौलाउने संभावना हुन्छ । बेरोजगार हुनेको संख्या बढेसँगै हत्या हिंसाका घटना बढ्दै गइरहेका छन् । देश चलाउने, तथा देश बनाउँछु भनेर कसम खानेहरु कुर्सीको लागि मारकाट गर्न तयार भएका छन् ।
यसले जनतामा एक किसिमको त्रास पैदा गरेको छ । जागीर खानको लागि ६०, ६५ वर्षको उमेरसम्म मात्रै उपयुक्त हुन्छ भनेर नियम कानुन बनाउने आफू भने ७५/८० कटेर आराम गर्ने समय आएको चाल समेत पाउँदैनन् । अहिलेको परिस्थितिमा समेत जल्दा, बल्दा, बौद्धिक युवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्न नसकेको देख्दा कुर्सीबाहेक जनताको लागि अहिलेसम्म देश चलाउनेले कहिले पनि सोचेका थिएनन् भन्ने छर्लंग बुझिन्छ । ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ कविशिरोमणि लेखनाथ पौड्यालका कविताका यी पंक्तिमा भनिए झैं यदि राजनीतिक चरित्र देश चलाउने नेतामा देखिंदो हो त कुर्सी र पदका लागि उनीहरु कहिल्यै पनि मरिहत्ते गर्दैनथे होला । देश, जनता र राजनीति भनेको के हो, नेताज्यू !