• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री ओलीको नजरमा विघटित संसद विरोधी देशद्रोही

माघ १२ २०७७, सोमबार

१२ माघ, काठमाडौं । पूर्वमन्त्री एवम् काँग्रेसका प्रतिभाशाली युवा नेता गगन थापाले गत जेठ २२ गते आफ्नो सामाजिक सञ्चाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकाबारे टिप्पणी गर्दै लेखेका छन्, –‘जे पनि बोल्ने प्रमको पुरानै प्रवृत्ति हो ।’

हुन त नेता थापाले यो टिप्पणी गर्दा राजनीतिक परिवेश भिन्नै थियो । जतिबेला ओलीले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर जेठ ७ गते नयाँ चुच्चे नक्सा सार्वजनिक गरेका थिए । यता नक्सा सार्वजनिक गरेपछि उता छिमेकी मुलुक भारत निकै रुष्ट बन्यो ।

भारत रुष्ट भएको थाहा हुँदाहुँदै ओलीले कुटनैतिक मर्यादा विपरीत अनेकन् अभिव्यक्ति दिए । ठीक त्यही समयमा नेता थापाले यस्तो टिप्पणी गरेका हुन्, –‘जे पनि बोल्ने प्रमको पुरानै प्रवृत्ति हो ।’ थापाको यो टिप्पणी त्यतिबेला जति सान्दर्भिक थियो, यतिबेला पनि उत्तिकै समय सुहाउँदो छ ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी संसद विघटन गरेका छन् । संसद विघटन भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई समूहमा विभाजित छन् । अध्यक्षद्वय दुई समूहमा विभाजित भएसँगै पार्टी धरापमा परेको छ भने उनीहरूबीच राजनीतिक जुहारी चलेको छ ।

विघटित संसदविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल ज्यान फालेर सडकमा उत्रिएका छन् भने अन्य राजनीतिक दल र अधिकारकर्मीहरूसमेत सडकमै छन् । ओलीको यो असंवैधानिक कदमका विरुद्ध ओली समूहबाहेक अन्य राजनीतिक दल, प्रोफेर, अधिकारकर्मी, नागरिक समाज, पत्रकार, बुद्धिजीवीलगायत आमसर्वसाधारण नागरिक सडकमा ओर्लिएका छन् ।

ओली र उनको कदमलाई सडकबाटै परास्त गर्ने उनीहरूले शङ्खघोष गरेका छन् । सडकमा उनीहरूको शङ्घोष सुनेर वा देखेर होला, यतिबेला ओली सन्किएर तुक नभएको तथ्यहीन भाषण गर्दै हिँडेका छन् । उनले आफ्ना प्रतिपक्षीलाई आरोप—प्रत्यारोप लगाउने नै भए ।

तर, न्यायालय र न्यायकर्मीहरूको समेत ओलीले घोर अपमान गर्दै आएका छन् । उनले आजसम्म देशका अधिकांश निकाय र ती निकायसँग सम्बद्ध नागरिकलाईसमेत अपमानित गरेका छन् । त्यतिमात्रै कहाँ होर ? उनले विघटित संसद विरोधी जो कोहीलाई देशद्रोहीको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटनको विरोध गर्नेहरू देशद्रोही भएको बताएका छन् । आइतबार (हिजो) अपाङ्गता भएका व्यक्तिहरूसँगको साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्दै सडकमा रोइ, कराइ गरिरहेका छन्, ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरू हुन् ।’

प्रधानमन्त्री ओलीलाई यत्ति पनि थाहा रहेन्छ, देशको नागरिकले के गर्दा देशद्रोही हुन्छ ? कि आफ्ना विरुद्ध सडकमा उत्रिदा वा बोल्दा देशद्रोही हुन्छ ?

बहुमतको सरकार हुँदा पनि काम गर्ने उचित वातावरण सिर्जना नभएपछि आफूले संसद भंग गरेको बताउँदै ओलीले अब ताजा जनादेशमा जानु परेको बताए ।

यसकासाथै उनले आफ्ना विरोधीमाथि प्रश्न तेस्र्याउँदै भने, –‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म कसरी तानाशाह भएँ ?’ ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन, मैले त जनताका बीचमा जाउँ भनेकोमात्र हुँ ।’ यतिमात्रै होइन, उनले जनताको अहित गर्ने जो कोहीलाई ठेगान लगाएरै छोड्ने धम्की समेत दिएका छन् ।

‘शासकहरू हतास भए बतास हुन्छन्’ भन्ने उखान ओलीमाथि चरितार्थ भएको छ । संसद विघटन आफैले गर्ने र उल्टै दम्भ देखाउने उनलेले सडकको आक्रोश देखेर हतास हुँदै बतासे शैलीमा राज्यको अत्यन्तै संवेदनशिल अंग न्यायालयमाथि नै अपमान गरेका छन् ।

बरु उनले आफ्ना प्रतिपक्षी समूह प्रचण्ड–नेपाल र अन्य पार्टीहरूमाथि आरोप—प्रत्यारोप र दोषारोपन गरेको जनताले अन्यथा मानेका छैनन् । तर, राज्यका संवेशिल अंगमाथि नै दुर्वाच्य बोल्नु, अपमाणित गर्नु राम्रो हुँदै होइन ।

प्रधानमन्त्रीले केपी शर्मा ओलीले पदिय दायित्व र जिम्मेवारी भुलेर बोल्नुले होला । पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रतिभाशाली युवा नेता गगन थापाले नौ महिनाअघि उनीमाथि टिप्पणी गरेको कुरा वर्तमान समयमा पनि उत्तिकै सार्थक छ, –‘जे पनि बोल्ने प्रमको पुरानै प्रवृत्ति हो ।’