• मंसिर १२ २०८१, बुधबार

विभाजित नेकपाले गरेको फेरबदललाई नमान्ने निर्वाचन आयोगको निर्णय 

माघ ११ २०७७, आईतवार

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलेकै पार्टी यथावत रहने विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।

ओली र दाहाल-नेपाल समूहले आफू आधिकारिक भएको भन्दै दर्ता गरेको निवेदन उपर छलफल गर्दै आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

विवरण  हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने नदेखिएको हुँदा साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज आइतबार  बसेको आयोगको पदाधिकारी बैठकले ओली र दाहाल- नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो ।

दाहाल-नेपाल समूहले आफूहरुले नेकपाको मान्यता पाउनुपर्ने दाबी गरिरहेकै छन् भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पनि आफू नै आधिकारिक र मूल पार्टी रहेको र अर्को समूह फुटेर गएको बताउँदै आएका छन्।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को धारा २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा धारा २९९ बमोजिम निर्णय लिइएको जनाइएको छ ।