काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध जारी गरेको संयुक्त सङ्घर्षका कार्यक्रम थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाज लगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौँमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ ।
बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गङ्गालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ ।
बैठकले सोमबार नै थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने अख्तियारी सङ्घर्ष समितिलाई दिएको छ । त्यस्तै प्रदेश र जिल्ला कमिटीका पदाधिकारीसहित साङ्गठनिक एकीकरणका बाँकी काम एकाध दिनभित्रै सम्पन्न गर्ने र रिक्त पदमा तत्काल पदपूर्ति गरिने भएको छ । सो कार्यका लागि पार्टी स्थायी कमिटीका सदस्यहरुको परामर्शमा सचिवालयले आवश्यक निर्णय गर्ने अख्तियारी समेत बैठकले दिएको छ ।