पछिल्लो समयमा नेपाली राजनीति प्रतिक्रियामा फुल्दै र फस्टाउँदै गैरहेको छ । प्रतिक्रियाका लागि प्रतिक्रिया दिनचर्या बन्न थालेको छ । एउटा पक्ष वा व्यक्तिले दिएको प्रतिक्रिया अर्को व्यक्ति वा पक्षका लागि नयाँ प्रतिक्रिया अभिव्यक्तिको आधार बन्न थालेको छ । विचार, नीति, योजना, कार्यक्रम र आफूहरुले जनताका बीचमा गरेका बाचा हावामा उडिरहेका छन् ।
केवल गाली, बेइज्जति, पूर्वाग्रह, रिस, द्वेष र क्लेष अभिव्यक्तिका लागि कार्यकर्ता र जनता सडकमा ल्याउन थालिएको छ । यसले अब देशको परिस्थितिलाई सामूहिक झडपतिर डोर्याइरहेको छ । झडपले दिने सन्देश असफलताको हो । वर्तमान सत्ताधारीको असफलताले सिंगो देशलाई अब क्रमशः पश्चगमनतिरको यात्रामा डोर्याउँदै लगेको छ ।
दुईतिहाईको अन्त्य भनेको राष्ट्रिय संकटको आगमन हो । देश अब विफलतातिर जाँदै गरेको चर्चा र चिन्ताले सबैलाई सताउन थालेको छ । दुई चिरामा अभिव्यक्त सत्ताधारी पार्टी सनक र लहडमा चलिरहेका छन् । देशको ढुकटी दुरुपयोग भैरहेको छ । व्यापारीहरुसँग अनावश्यक सर्तमा ठूल्ठूला सहयोग रकम लिने र गाली बेइज्जती गर्ने सभामा खर्च गर्ने गरिरहेका छन् ।
उता उद्योगी व्यापारी तथा अन्य चन्दा दाताहरु राजनीतिक पार्टीलाई दिएको रकम असुल्न बजार मूल्य बृद्धि गर्न हरहिसाबमा लागेका छन् । यस्तो अवस्थामा मारमा पर्ने भनेको देश र जनतामाथि नै हो । नेता तथा उनीहरुको पार्टी त केवल तामसी खेलमा अभिव्यक्त चटकी झैं देखिन थालेका छन् । विदेशीको नेपाल माथिको नकारात्मक आँखा झनै आक्रामक हुँदै गएको छ ।
यति बेला देखेस् र पखेस् होइन, देश र जनताका लागि एजेण्डा र कार्यक्रम लिएर राजनीतिक दलहरु अघि बढ्नु जरुरी छ । जनतालाई स्पष्ट दिशाबोध गराउनु जरुरी छ । सचेत बनाएर जनताको अगुवाइ गर्नु जरुरी छ । देशलाई अफल हुनबाट जोगाई अग्रगमनतिर मोड्नु छ । त्यसैले पश्चगमनको यात्रा रोक !