• जेष्ठ २७ २०८२, सोमबार

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न सर्वोच्चमा निवेदन

माघ ११ २०७७, आईतवार

काठमाडौँ। प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका नेताहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ लगायतले राजपत्रमा प्रकाशित सूचनाबारे आधिकारिकता जाँच गर्न सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । तर त्यसको सूचना राजपत्रमा प्रकाशित भएन ।

यसबारे वकिलहरुले प्रश्न उठाएपछि संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरेर गत शुक्रबारको इजलासमा पेश गरियो ।

यसबारे आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रश्न उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोके । उनले निवेदन आएको भन्दै अहिले बहस नगरौं भन्दै रोकेका हुन् ।