• मंसिर १२ २०८१, बुधबार

ओली केशरजंग रायमाझी भन्दा पनि प्रतिमागी हुन्ः ज्ञवाली

माघ १० २०७७, शनिबार

नेकपाको प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याइ छ ।

उनलाई पार्टीले अध्यक्षबाट हटाइसकेकाले पुनः नेतृत्वमा ल्याउन सम्भव नभएको प्रष्ट पारेका हुन् । प्रचण्डमाधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केपी ओलीले कम्युनिस्टको खोल ओढेर राष्ट्रघाती र प्रतिगमनकारी काम गरेको बताए ।

‘प्रतिनिधि सभा विघटन गरेर ओलीले एकैपटक कम्युनिस्ट पार्टी, गणतन्त्र र राष्ट्रियतामाथि ठूलो प्रहार गरेका छन्,’ ज्ञवालीले भने, ‘ओलीको कदम केशरजंग रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती छ ।’

केशरजंग रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेको तर ओलीले आफै प्रतिगमन गरेर गणतन्त्र समाप्त पार्ने र रायमाझीले भन्दा अझ बढी क्षति पुर्याउन खोजेको ज्ञवालीले बताए ।

प्रतिनिधिसभा विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरे । राष्ट्रवादको नारा लगाउँदैमा र अर्को देशलाई गाली गर्दैमा राष्ट्रवादी नभइने भन्दै ज्ञवालीले संसद विघटन गर्ने ओलीको निर्णयले राष्ट्रियतालाई कमजोर बनाएको बताए ।