• मंसिर ११ २०८१, मंगलवार

‘च्यातिएको जरासन्ध’ झैं सरकार र सडकमा छटपटाउँदै नेकपा !

माघ ९ २०७७, शुक्रबार

काठमाडौं । कथामा वर्णन गरिएअनुसार महाभारत काल वा द्वापर युगका मगध सम्राट जरासन्ध महाभारतका खलपात्र हु्न् । उनी श्रीकृष्णका मामा कंशका मामा हुन् । यस अर्थमा जरासन्ध श्रीकष्णका बूढोमावली बाजे हुन् । श्रीकृष्णले मामा कंशको हत्या गरेपछि रिसाएका जरासन्धले श्रीकृष्णको राज्य मथुरामाथि धेरै पटक आक्रमण गरी तहसनहस पारेका थिए । यतिसम्म कि श्रीकृष्णले मथुरा त्यागेर समुन्द्रको किनारामा रहेको सानो टापुमा द्वारका सहर निर्माण गरेर आफ्नो राज्य र यदु वंशको रक्षा गर्ने अवस्थामा पुर्याएका थिए ।

द्वारका सहर बसाएपछि पनि क्रोधित श्रीकृष्णले बाजे जरासन्धको बध गर्ने सजिला उपायहरु खोज्न थाले । किनकि लडेर जरासन्धको बध गर्न संभव नै थिएन । जरासन्धको बध गर्न उनलाई विसाल फौज र राज्यशक्तिबाट अलगथलग गर्नु पर्ने हुन्थ्यो । यसै उपायको खोजीमा थिए, श्रीकृष्ण । यसको पछाडि जरासन्धको सहज बध के गरी संभव छ भन्ने गुह्यकुरा श्रीकृष्णलाई थाह थियो । त्यो हो, जरासन्ध सिंगो नभई आधाआधा भागमा दुई भिन्न आमाबाट जन्मिएका थिए । त्यति बेलाका आयुर्वेदाचार्य तथा जानकार ऋषिमुनीहरुको सल्लाहमा उनलाई जडिबुटीको लेपनसहित दुईभाग एकआपसमा सुल्टो गरी जोडेर सिंगो बनाई जीवन दिइएको थियो ।

रहस्यको कुरा त यो थियो कि दुई भिन्न आमाबाट जन्मिएका जरासन्ध शरीरका दुईभाग जोडेर सिंगो बनेकाले उनको शरीरलाई बलिष्ठ मानिसले टाँगबाट शीरसम्म च्यातेर फेरि दुई भाग बनाएर सजिलै बध गर्न सक्दथ्यो । यो कार्यसिद्धिका लागि श्रीकृष्णले भीमलाई रोजे । यो बाहेक जरासन्धको अर्को कमजोरी पनि श्रीकृष्णलाई थाह थियो । त्यो हो, जरासन्ध महादानी छन् र दानमा वचनबद्ध छन् ।

यही दुई कमजोरीको फाइदा उठाउन श्रीकृष्ण माहिर थिए । उनका कुटनीतिक तथा कार्यनीतिक चाल कसैका लागि पनि त्याज्य थिएनन् । श्रीकृष्णले जोकसैलाई पनि परिबन्दमा पारिहाल्थे । बिहान पुजा गरेर दान दिंदै गरिरहेका बेला श्रीकृष्ण पनि महाबली भीमलाई लिएर जरासन्धको दरवारमा पुगी भिक्षाकक्षमा लाइनमा उभिए । जरासन्धले उनीहरुको पालो आउँदा भिक्षा दिन थाले । तर श्रीकृष्णले हामीले तपाईसँग मल्लयुद्ध गर्ने भिक्षा लिन आएका हौं खाने भिक्षा लिन आएका होइनौ भनेर ललकारे ।

त्यसपछि जरासन्धले ब्राह्मण भेषमा भिक्षा माग्न आएका यी श्रीकृष्ण हुन् भनी चिनिहाले । उनले अर्को को हो भनी सोधे, श्रीकष्णले भीम हुन् भनी जवाफ दिए । जरासन्धले भिक्षादानको शुभमुहुर्तमा उनीहरुको चुनौतीलाई दानका रुपमा स्वीकार गरे । उनले भीमसँग मल्लयुद्ध लड्नु पर्ने भयो । मगध दरवारस्थित मल्लयुद्ध कक्षमा जरासन्ध र भीम यल्ल युद्धमा नारिए ।

लडाइँ लम्बियो । लामो लडाइँका कारण भीम थकित भए । किनकि उनले जरासन्धलाई पटकैपटक जाँघबाट चिर्दै र आधा बनाउँदै फ्याँक्दै गरे, तर आधा बनाइएको दुई शरीर नजिकिदै आएर फेरि सिंगो भई जरासन्ध नयाँ र ताजा बनेर भीममाथि जाइलागिहाल्थे । यो तरिकाले जरासन्धको मृत्यु संभव भएन । हैरान र चकित भएका भीमले मल्ल युद्ध हेरिरहेका श्रीकृष्णतिर फर्किएर इशारा गरे– ‘अब के गर्ने ?’

त्यति बेला श्रीकृष्णले आफ्नो नजिकैको लामो काठ बीचबाट चिरी दहिनेलाई बायाँ र बायाँलाई दाहिनेतिर विपरीत दिशामा फालिदिए । यसपछि भीमले पनि लामो प्रयासपछि फेरि जरासन्धको शरीर जाँघबाट चिरेर दुई चिरा बनाई दायाँलाई बायाँ दिशामा र बायाँलाई दायाँ गरी दुई विपरीत दिशामा फ्याँकिदिए । अबभने जरासन्धको मृत्यु भयो ।

आजभन्दा चारवर्ष पहिले वाम गठबन्धनका रुपमा जोडिएका वर्तमान ‘नेपाली जरासन्ध’ अर्थात् सत्ताधारी नेकपा अहिले ठीक बिचभागबाट च्यातिएको छ । यसको यात्रा ठीक विपरीत ध्रुवमा लक्षित छ । एउटाले संसद विघटन गरेको छ र अर्काले संसद पुनस्र्थापनाको आन्दोलन थालेको छ । एउटा सरकारमा छटपटाइ्रहेको छ, अर्को सडकमा छटपटाइरहेको छ ।

यी च्यातिएका दुईचिरा बैशाखदेखि जीवित हुने संभावना कम देखिदै गएको छ । नेपालमा उत्पन्न परिस्थिति समाधानका लागि नयाँ ‘खिलराज रेग्मी’को खोजी हुँदै गरेको सूचना प्रवाह भैरहेका छन् । यदि यी सूचनामा दम भने अबका भीम बैसाखदेखि पर्दामा देखिने छन् । श्रीकृष्ण भने त्यति बेला पनि मल्लयुद्ध दर्शकका माझमा रहिरहने भएकाले राजनीतिक विश्लेषणका आँखाले बाहेक अन्य सबैले प्रत्यक्ष देख्न सक्ने छैनन् । तर नयाँ शक्ति सन्तुलनको निकाससहितको नेपाली राजनीतिक वातावरणमा श्रीकृष्णको ‘मकसद’ वा उद्देश्य भने पूरा भएको हुने छ ।