९ माघ, काठमाडौं । पुष ५ गते विघटित संसदको विरोधमा आन्दोलनरत प्रचण्ड–नेपाल नेकपाले शुक्रबार (आज) संघीय राजधानी काठमाडौंमा विरोधस्वरूप शक्ति प्रदर्शन गर्ने भएको छ । उसले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई उपत्यकामा उतारेर दिउँसो काठमाडौंमा वृहत प्रदर्शन गर्ने भएको हो ।
जनप्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार (हिजो) साँझ नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेका छन् । संविधानको रक्षा र विघटित संसदको पुनस्र्थापनाका निम्ति आधार खडा गर्ने उद्देश्यले बृहत जनप्रदर्शन गर्न लागिएको उक्त संघर्ष समितिका संयोजक एवम् नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बिहीबार (हिजो) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले भने, ‘सत्ताको कुनै पनि दबाबमा नपरी संविधानले निर्दिष्ट गरेका भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्न संवैधानिक अंगहरुलाई यो संघर्षले अर्थात् जनप्रदर्शनले उचित वातावरण निर्माण गर्नेछ ।’
आज दिउँसो ठीक १२ बजेदेखि काठमाडौंका नौं वटा ठाउँबाट स्थायी समिति सदस्यहरूको नेतृत्वमा सुरु हुने जनप्रदर्शन भृकुटी मण्डप पुगेर बिरोध समाभा परिणत हुने छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र वाल्मिकी क्याम्पसबाट प्रदर्शन सुरु हुने नेकपाले जनाइएको छ ।
सबैतिरबाट जम्मा भएर आएको प्रदर्शन रत्नपार्कमा जम्मा हुनेछ । त्यहाँबाट एकीकृत प्रदर्शन पुनः भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने तय गरिएको जनाइएको छ । यस जुलुसको नेतृत्व पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले गर्ने भएका छन् । सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको सेडुल तयारी गरिएको छ ।
जनसभाका लागि २ हजारभन्दा स्वयंसेवक परिचालित गरिने नेकपाले जनाएको छ । जनप्रदर्शनको लागि बागमती, गण्डकी र प्रदेश २ का विभिन्न जिल्लाबाट बिहीबार (हिजो) साँझदेखि नै नेता, कार्यकर्ता राजधानी पुग्ने कार्य सुरु भइसकेको छ । बाँकी प्रदेशबाट राजधानी आउनेक्रम जारी रहेको नेकपाले जनाएको छ ।
जनप्रदर्शनका लागि संघर्ष समितिले पेशागत समूह र क्षेत्रगत ठाउँ निर्धारण गरिसकेको छ । माइतीघर मण्डलाबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, पेशागत संगठन, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनियर र प्रदेश २ का जिल्लाबाट आउने नागरिक सहभागी हुनेछन् । यो प्रदर्शनको अगुवाइ लीलामणि पोख्रेल, गिरिराजमणि पोखरेल, मातृका यादव, हरिबोल गजुरेल, गणेश साह र पेशल खतिवडाले गर्नेछन् ।
त्यसैगरी डिल्लीबजारबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–३, ४ र ५ नम्बर क्षेत्रबाट आउनेहरु सहभागी हुनेछन् । जसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्नेछन् । लैनचौरबाट निस्कने जुलुसमा काठमाडौं–६ र ७, नुवाकोट र रसुवाबाट आएका प्रदर्शनकारी सहभागी हुने छन् । यो जुलुसको नेतृत्व भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाईले गर्ने तयारी छ ।
त्रिपुरेश्वरबाट निस्कने जुलुशमा काठमाडौं–८, ९ र १०, धादिङ, चितवन, मकवानपुर र गण्डकी प्रदेशबाट आउने नागरिक सहभागी हुनेछन्। जसको अगुवाई देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछन् । कुपण्डोलबाट सुरु हुने जुलुशमा ललितपुर जिल्लाका अलावा खेलकुद र सुकुम्बासी संगठनमा आवद्धहरू सहभागी हुनेछन्। जसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले गर्नेछन् ।
प्रदर्शनीमार्गबाट सुरु हुने जुलुसमा सम्पर्क कमिटी, आदिवासी जनजातिसहितका संगठनकाहरू सहभागी हुनेछन् । जसको नेतृत्व घनश्याम भूसाल र जनार्दन शर्माले गर्ने भएका छन् । शान्तिबाटिकाबाट मजदुरको जुलुश निस्कने छ भने जसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्नेछन् ।
त्रिचन्द्र कलेजबाट विद्यार्थीको जुलुश निस्कने छ । जसको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन् । त्यसैगरी पेशागत क्षेत्रका सवै संगठनको जुलुश वाल्मिकी क्याम्पसबाट सुरु हुने कार्यक्रम छ । जसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्ने संघर्ष समितिले जनाएको छ ।
जनप्रदर्शनका्े सबै तयारी पूरा भएको भन्दै संयोजक नारायणकाजी श्रेष्ठले संसद विटन गर्ने र संविधानको धज्जी उडाउने केपी शर्मा ओलीविरुद्ध भएको बताएका छन् । उनले सडकबाटै ओलीलाई च्युत गर्नेसमेत चेतावनी दिएका छन् ।