काठमाडौं । संसद विघटनको विरोधमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा मसाल जुलुस निकालेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मसाल जुलुस निकालेको हो।
काठमाडौँको बिजुलीबजार, कोटेश्वर, बानेश्वर, चाबहिल लगायत स्थानमा जुलुस प्रदर्शन भएको छ । केहि स्थानमा प्रहरीले धरपकड समेत गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनावको घोषणा गरेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा विशाल सभा गर्ने दाबी गरेको छ। सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए।
उनले शुक्रबारको आन्दोलन परीक्षा भएको समेत बताए। केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले ८/९ ठाउँबाट जुलुसहरू आउने र त्यसपछि आमसभा हुने बताए। सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ।
रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।
यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसङ्गठन तथा जनसमुदायमा अपिल गरेको थियो ।