८ माघ, काठमाडौं । पुष ५ गतेपछिको विकसित राजनीतिक घटनाक्रम यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभिन्न उल्झनहरू उल्झिदै आएका छन् । जसरी सुनमा कसी लगाउँदा सुन र पित्तलको रंग, रोगन छुट्टिन्छ । ठीक त्यसरी नै संसद विघटनले नेकपाको असली फेहरिस्त छुट्याइ दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको अन्तरसंघर्ष निस्तेज गर्नुको साटो झोक्किएर सनकका भरमा पुष ५ गते संसद विघटन गरेका छन् । उनले संसद विघटन गरे यता नेकपा नै फुटको संघारमा उभिएको छ । यतिबेला नेकपा दुई समूहको चिरामा विभाजित छ, –‘केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह ।’
यसरी ओली एकातिर र प्रचण्ड—नेपाल अर्कोतिर हुनुले पार्टीभित्र नराम्रो प्रभाव परेको छ । यसकासाथै कम्युनिस्टहरूलाई जनताले हेर्ने दृष्टिकोण नै बदलिएको छ । जनताले आसा र भरोसा गरेरै नेकपालाई पाँच वर्षे म्यान्डेट दिएका थिए । तथापि उक्त म्यान्डेटलाई केपी शर्मा ओलीले सनकमै भरमा तीन वर्ष बित्दा नबित्दै अन्त्य गरिदिएका छन् ।
तथापि संविधान बमोजिम उनले संसद विघटन गर्न पाउने कुनै अधिकार त छैन । यद्यपि उनले संविधानको अपव्याख्या गर्दै संसद विघटन गर्न पाउने भन्दै गत पुषमा विघटन गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुको साटो पार्टीभित्रका थुप्रै बाधा, व्यवधान सल्टाउनतिर लाग्नु पथ्र्यो । तर, उनले त्यसो गर्नुको सट्टा संसद नै विघटन गर्ने कार्य रोजे ।
उनले रोजेको यो संसद ‘कू’ पश्चात् यतिबेला देशको राजनीतिक स्थिति निकै पेचिलो बन्दै गएको छ । त्यतिमात्रै कहाँ होर ? प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद र सडकमा विरोध भैरहेको छ । संसदमा सांसदहरू, सडकमा राजनीतिकर्मी र अधिकारकर्मीहरूले उनको विरोधमा दबाबमूलक गतिविधि बढाउँदै आएका छन् ।
प्रचण्ड—नेपाल समूहले त जनदबाब, विरोध, शक्ति प्रदर्शन जस्ता कार्यक्रम गर्दै आएको छ । उसले देशव्यापी आन्दोलनको घोषणासमेत गरिसकेको छ । योसँगै देशका सातै वटा प्रदेशका प्रमुख सहरहरूमा दैनिकजसो आन्दोलनका कार्यक्रम हुँदै आएका छन् । संसद विघटन, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको घोर विरोध हुँदै आएको छ ।
यता केपी शर्मा ओली समूह पनि कहाँ कम छ ? उसले पनि पानीमाथि ओभानो बन्न हरहमेशा कोसिस गर्दै आएको छ । संसद विघटन संविधान सम्मत भएको भन्दै ओली समूहले पनि देशव्यापी रूपमा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विभिन्न कार्यक्रममार्फत जागरुक गराउँदै आएको छ ।
संघीय राजधानी काठमाडौं उपत्यकामा उसले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । कहिले पार्टीको कार्यक्रम त कहिले विभिन्न जनवर्गीय संघ, संगठनका कार्यक्रममा ओली स्वयम् उपस्थित भएर सम्बोधन गर्दै आएका छन् ।
बिहीबार (आज) राष्ट्रिय सभा गृहमा प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलालाई प्रम ओलीले सम्बोधन गरेका छन् । संवोधनका क्रममा उनले वर्तमान राजनीतिक घटनाक्रम, देशको राजनीतिक अवस्था, पत्रकारीताको मर्म र सिद्धान्त, परम्परागत, आधुनिक पत्रकारीता, २० सौँ शताब्दिको बदलिदो परिवेशका बारेमा समेत भनाइ राखेका थिए ।
त्यस्तै प्रम ओलीले सम्बोधनकै क्रममा प्रचण्ड—नेपाल समूहका नेता एवम् पूर्वमन्त्री डा. भीम रावलको शैक्षिक योग्यतामाथि प्रश्न गरेका छन् । उनले डा. रावललाई कटाक्ष प्रश्न गर्दै भने, —‘कुन डाक्टरले कसरी डा. (विद्यावारिधि) गरेका हुन्, उनले भनेछन्, महिलाको किड्नी लगाएर ओलीको दिमागले कामै गर्न छोड्यो ।’
हिजोका दिनमा भरपूर साथ दिँदै आएका डा. भीम रावलको ओलीले नामसमेत उच्चारण गर्न कन्जुस्याइँ गरे । नाम लिन कन्जुस्याइँ गर्दै दोहोर्याएर डा. रावललाई होच्याउँदै उनको शैक्षिक योग्यताको बदनामसमेत गरेका छन् ।
नेता तथा पूर्वमन्त्री डा. भीम रावलले प्रधानमन्त्री ओलीलाई महिलाको किड्नी ट्रान्सप्लान्ट गरेकोले दिमागले काम नगरेको भन्ने शीर्षकको समाचार निराधार भएको बताएका छन् । उनले एक महिनाअघि नै यस बारेमा खण्डनसमेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले यस्तो नभनेको भन्दै स्पष्टिकरण दिईसकेका छन् ।
तर, पनि ओलीले विना आधार निराधार कुरालाई तथ्य मान्दै डा. रावलको अपमान गर्दै आएका छन् ।