• मंसिर १७ २०८१, सोमबार

हिमालय पर्वतसँग जोडिएका नौ आश्चर्य

माघ ८ २०७७, बिहीबार

विश्वको सबैभन्दा अग्लो हिमालय श्रृंखलाको अधिकांश भाग नेपालमा पर्दछ । हिउँको अथाह राशी भएको हिमालयबाट हिम नदी गहिरा गल्छी बनाएर बग्दै हिमालयको तल्लो भागमा आउँदा नदी बनेर बगिरहेका छन् । यो क्षेत्रमा रहेका जैविक विविधता विश्वकै लागि दुर्लभ नमूना बनिरहेका छन् । सवश्वको सबैभन्दा अग्लाो टाकुरो सगरमाथा देखि अन्य उच्च दर्जनौ हिमाल शिखर यसैमा पर्दछन् । धार्मिक रुपमा भगवानको भूमि वा ‘स्वर्ग’ मानिने यो क्षेत्र विश्वकै ‘होलिडे ल्याण्ड’का रुपमा विकास गर्न सकिने कुरा आइरहँदा अद्वितीय प्राकृतिक सौन्दर्यताको खानी रहेको हिमालसँग जोडिएका दश आश्चर्य यस प्रकार रहेका छन्:

१. विश्वको सबैभन्दा कान्छो श्रृंखला:

विश्वको सबैभन्दा अग्लो रहेर पनि सबैभन्दा कान्छो श्रृंखला हो, हिमालय । यो भारतीय टेक्टोनिक प्लेट र तिब्बतीय टेक्टोनिक प्लेटका बीचमा रहेको छ । भौगर्भिक अध्ययनले देखाएअनुसार सिंगो हिमालय र महाभारतीय इलाका भित्रको भौगर्भिक बनोट वा प्लेट सिंगो र एउटै नभएर खण्डखण्डमा विभाजित छ । नेपालको आफ्नो सिंगो र अखण्ड भौगर्भिक प्लेट छैन ।
अहिले पनि भारतीय तथा तिब्बतीय प्लेटहरु एकापसमा जुध्दै जाने क्रममा हिमालय पर्वत प्रतिवर्ष २ मिलिमिटर माथि उठ्ने गरेको विश्वास गरिन्छ । आजभन्दा २५१ अर्ब वर्ष मेसोजोइक युगसम्म पृथ्वीमा रहेका हालका सबै जमिनको भाग सिंगो र एकै ठाउँमा रहेको थियो ।
भौगर्भिक महाहलचलपछि तात्कालीन लाउरासिया महादेशमा स्थित उत्तर अमेरिका र अल्पाइन पर्वत एकातिर परे भने गोण्डवाना महादेशका दक्षिण अमेरिका, अफ्रिका, इण्डिया, अष्ट्रेलिया र अन्टार्कटिका अर्कोतिर परे । यसरी तात्कालीन लाउरासिया र गोण्डवाना नामक प्राचीन महादेशहरु छुट्टिएर यताउति हुँदा तात्कालीन टेथिस सागर माथि उठ्न गई हिमालय श्रृंखला बन्न पुगेको हो ।

२. अति ठाडो र भिरालो जमिन:

नेपालको जस्तो ठाडो र अति भिराले जमिन विश्वमा कमै पाइन्छ । भिरालो भएर पनि यो वस्तीयोग्य हुनु आफैमा आश्चर्यजनक छ । उचाइअनुसार हावापानी र बस्ती पनि भेटिन्छ यहाँ । अझ आश्चर्यको कुरा त के छ भने उही श्रृंखलाको फेदीमा उपत्यका वा तराइ, मध्य भागमा महाभारत श्रृंखला र यसको शिखरमा हिमालय रहेको छ । यो भूबनोट आफैमा आश्चर्यजनक छ । एउटै बाटो हिंड्दा उचाइ माथि जाँदै गर्दा हिमालयसम्म पुगिने र तलझर्दै गर्दा तराइमा झरिने हुन्छ । यो नेपालमा मात्र पाइने विशिष्ट अनुभूति हो ।

३. अद्वितीय सौन्दर्य:

हिमालय श्रृंखला आफैमा निकै रमणीय छ । होचाअग्ला हिम पहाड श्रृंखलाबद्धरुपमा दाँतको लहर झैं देखिदा यसले सबैको मन लोभ्याउने गरेको छ । हिमालयमा रहेका जैविक तथा वानस्पतिक विविधताले सबैको मन नलोभ्याएर छाड्दैन ।

४. विश्वको शीर सगरमाथा:

सगरमाथा विश्वको सबैभन्दा अग्लो स्थान हो । भौगोलिक हिसावले यो विश्वको धुरी हो । सगरमाथा भनेको आकाशसम्म पुगेको पृथ्वीको टाउको हो । तिब्बती र चिनियाँ यसलाई चोमोलुङ्मा भन्ने गर्दछन् । त्यो भनेको पनि अग्लो धुरी नै हो ।

५. प्राकृतिक भगवान:

हिन्दु परम्परा र संस्कृतिअनुसार हिमालय आफैमा भगवानको स्वरुप हो । यसलाई ‘गिरिराज’ भनेर पुकारिन्छ । ‘गिरिराज’ समास शब्द हो, ‘गिरि’ भनेको ‘पहाड’ र ‘राज’ भनेको ‘देवता’ हो । यो भगवानहरुको वासस्थान हो । विभिन्न धर्मग्रन्थमा यसको निकै चर्चा हुने गरेको छ । वेद, पुराण तथा रामायणदेखि महाभारतसम्मका ग्रन्थहरुमा हिमालयको बयान कतै पनि छुटेको छैन ।

६. हिमाल आरोहण:

हिमाल आरोहणको अभ्यास विश्वभर नै छ । तर मनमोहक हिमश्रृंखला मूलतः नेपालमा रहेकाले नेपालमा हिमालय आरोहणको आनन्द अर्कै हुन्छ । त्यसैले पनि विश्वका मानिस नेपाल आएर हिमाल चढ्ने र आनन्द लिने पनि गरिरहेका छन् । हालसम्म सगरमाथामा ५००० जना आरोही चुचुरोमा पुगेको विश्वास गरिएको छ ।

७. जनजीवनमा प्रभाव:

यसले जनजीवनमा अभिव्यक्त संस्कृति र भेषभूषामा विविधता ल्याएको छ । यहाँ विभिन्न धर्म र सम्प्रदायका मानिसहरु बसोबास गर्दछन् । सबैभन्दा आकर्षक कुरा त यहाँ बौद्ध गुम्बा नै हुन् । यी गुम्बाहरु हिमालय श्रृंखलाको मुनि निकै संख्यामा रहेका छन् ।

८. हिउँको खानी:

हिमालय श्रृंखलामा सदियौंदेखि थुप्रिएर रहेको हिउँ कहिल्यै पनि पग्लदैन भन्ने विश्वास गरिन्छ । हिमश्रृंखलामा बेलाबेलामा जाने हिम पहिरो बाहेक थुप्रिएको हिउँ अरु कारणले घट्ने वा नस्ट हुने गरिरहेको छैन । केही मात्रामा हिमालयको मध्यतल्लो भागबाट हिउँ पहिरो जाने र हिम नदीका रुपमा बग्ने बाहेक नदी नै बनेर बगिरहेको देखिदैन । तथापि पछिल्लो चरणमा विश्व तापमानमा भैरहेको वृद्धिका कारणले हिउँ पग्लन थालेको कुराले सबैलाई चिन्तित बनाइरहेको छ ।

९. प्रेरणाको स्रोत:

हिमाल आफैमा विश्वका लागि प्रेरणाको स्रोत हो । यसले प्राकृतिक सौन्दर्य मात्र नदिएर विश्वलाई माथि उल्लेख गरिएका कुराहरु दिएर प्रेरणाको काम गरिरहेको छ । यहाँ विविध अन्वेषणका कुरा छन् । यी कुराहरु सबैका लागि नयाँ र जहिले पनि उत्तिकै प्रेरणादायी छन् ।