काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पीत पत्रकारिता अहिले मुलुकको चुनौती र समस्या भएको बताएका छन् । बिहीबार उनी निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पत्रकारहरू स्वार्थमा चल्न थालेर पीत पत्रकारिता बढेको बताए । उनले पीत पत्रकारिता गर्नेहरू आफैँ पाखा लाग्ने पनि बताए । यस्तै उनले पत्रकारिता क्षेत्रले ‘तिमी’ भाषा प्रयोग गरेकामा पनि टिप्पणी गरे । उनले यसले नेपाली संस्कृति, परम्पराको अवमूल्यन गरेको पनि बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यांग्य गर्दै ‘निःसन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गरे । उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताए । “मैले त देशका सन्तानहरूलाई आफ्नो सन्तान ठानेको छु । त्यसमा हर्ष न विस्मात ! तर, उहाँ (प्रचण्ड)ले त मेरा सन्तान छन् । छोरीहरू छन् । ज्वाइँ छन् । उनीहरूका लागि केही त गर्नै पर्यो भन्दै हुनुहुन्छ,” उनले भने ।
उनले प्रचण्डलाई आफ्नो छोरीलाई जिताउनका लागि हार्ने अवस्थामा आएपछि मतपत्र च्यातेको आरोप लगाए । ओलीले प्रचण्डलाई प्रश्न गर्दै भने,‘आफूलाई यहाँसम्म पुर्याउनेहरूको छोराछोरीको अवस्था कस्तो छ ? तपाईंले सोच्नुभएको छ ?’
उनले आफ्नो मुख्य उद्देश्य समृद्ध नेपाल सुखी नेपाली रहेको बताए । देश बनाउनु छ । कसैलाई प्रतिशोधको भावनाले जाने पक्षमा छैनौँ, उनले भने, ‘देश बनाउनका लागि हाम्रो यात्रा तय गर्नुपर्छ, समाजमा विभिन्न प्रकारका व्यक्ति हुन्छन् । तीनले आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन् ।’