काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संसद् विघटनले गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताएका छन् ।
उनले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गर्दै उनले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेका विरुद्ध उत्रिनुपर्ने बेला आएको बताए ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताए । अहिले गणतन्त्र सङ्कटमा परेको टिप्पणी गर्दै उनले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताए ।