• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रहरुबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक

माघ ७ २०७७, बुधबार

काठमाडौं ।  एसियाली सहयोग संवाद (एसीडी) को बुधबार आयोजित ‘दि इकोनिमक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डायलग मेम्बर कन्ट्रिज’ भर्चुअल सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य तथा द्वि–राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले एसिडी राष्ट्रहरुबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक रहेको जनाएका छन् । 

टर्कीमा आयोजना भएको एसियाका कुल ३५ देश सम्मिलित एसिडी मुलुकहरुको उद्योग तथा वाणिज्य चेम्बर्सको उक्त सम्मेलनमा नेपालकोतर्फबाट वस्नेतको मात्र सहभागिता रहेको थियो ।

नेपालको तर्फबाट सम्बोधन गर्दै एसिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रीज (एसिडी) राष्ट्रहरुबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने जनाउँदै यसका लागि यातायात पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै राजमार्ग, रेलवे, एयर–लिंक, समुद्री मार्गहरू, साथसाथै एसीडीका सदस्यहरूका बीच डिजिटल कनेक्टिभिटीमा जोड दिए । बस्नेतले सफ्टवेयर (सीमापार नीति सम्बन्धित) र हार्डवेयर (व्यापार सुविधा पूर्वाधारसँग सम्बन्धित) दुबै सम्पर्क पक्ष निर्माण गर्नुपर्ने र दिगो हुनुपर्ने जनाउदै वर्तमान व्यापार सम्बन्धलाई बढावा दिन र नयाँ उत्पादनका लागि व्यापारको सम्भावना पहिल्याउन समेत उनले आग्रह गरे । 

बस्नेतले व्यापार र लगानीका सम्बन्धमा विश्व बैंकको डूइंग बिजनेस इन्डेक्स २०२० ले नेपाललाई सबैभन्दा अनुकूल राष्ट्रहरुमध्ये ९४ औं नम्बरमा राखेको उल्लेख गर्दै दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेश्रो स्थानमा रहेको जनाए साथौ नेपालको वर्तमान आर्थिक अवस्थाको बारेमा संक्षिप्त रूपमा प्रस्तुत गरे । 

बस्नेतले नेपालको छिमेकी भारत र चीनजस्ता ठूला राष्ट्रहरु रहेको बताउँदै भारतसँग ‘व्यापार सन्धि र पारवहनको सन्धि तथा चीनसँग ट्रान्जिट र व्यापार सम्झौता भएको सम्मेलनमा बताए । नेपालको जनसंख्या, भौगोलिक स्थिति तथा विविध विषयमा प्रकाश पार्दै नेपाल व्यापार तथा लगानीका लागि निकै उपयुक्त रहेको सम्मेलनमा उल्लेख गरे । नेपालमा काम गर्ने उमेरको जनसंख्या ५७ प्रतिशत रहेको उल्लेख गर्दै छिमेकी देशहरूको तुलनामा श्रम लागत कम रहेको बताए ।

नेपाल सार्क, बिम्सटेक, डब्ल्यूटीओ, मिगा, बीआरआई, युएनसीटीएड र धेरै महत्वपूर्ण बहुपक्षीय निकायको सदस्य रहेको उल्लेख गर्दै बस्नेतले नेपालले ५ वटा राष्ट्रहरुसँग विप्पा सम्झौतामाहस्ताक्षर गरेको तथा ११ देशहरूसँग डीटीएएमा हस्ताक्षर गरेको उल्लेख गरे ।

बस्नेतले सम्मेलनमा व्यापार, पर्यटन र लगानीको लागि नेपालमा आकर्षक र सम्भावना भएको देश रहेको जनाउँदै एसीडी राष्ट्रका सबै सदस्यहरू तथा लगानीकर्ताहरूलाई नेपालमा व्यापार सम्बन्ध स्थापित गर्न आमन्त्रित गरे ।