• बैशाख १० २०८२, बुधबार

तोकिएको मितिमा निर्वाचन हुन गाह्रो छ : पूर्व प्रमुख निर्वाचन आयुक्त

माघ ७ २०७७, बुधबार

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् ।

उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे । पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै आयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए । निर्वाचन सम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाई छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद विघटन अथवा संसद पुर्नस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नहुने टिप्पणी गरे । मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाई छ । उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताए । वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उनले औँल्याए । पोखरेलले संसदलाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्ने धारणा राखे ।