• बैशाख १० २०८२, बुधबार

मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

माघ ७ २०७७, बुधबार

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन्।

उनलाई मंगलबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका पठाइदिने भन्दै थापाले एक व्यक्तिसँग १५ लाख लिई ठगी गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

थापालाई ठगीसम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

उनीबाट ठगिएका अन्य व्यक्ति कोही भए सम्पर्क गर्न पनि महाशाखाले अनुरोध गरेको छ।